पदबहाली गर्ने क्रममा जिल्लाकै एक्लो महिला वडाध्यक्ष गुरुङको दुई निर्णय


eShilalekh

१२ जेष्ठ २०७९, बिहीबार १०:४९

सिमराः बाराको एक मात्रै महिला वडाध्यक्ष चयन गुरुङले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालयमा पदभार ग्रहण गरेकी छिन् । औपचारिक कार्यक्रमकाबीच पदबहाली गरेकी गुरुङले सर्पदंशका विरामी र सुत्केरी महिलालाई प्राथमिकतामा राख्दै निर्णय गरेकी छिन् ।

नेकपा एमालेको तर्फबाट जिल्लाको एक सय ६७ वडामध्ये जीतपुरसिमरा १४ मा फराकिलो मतान्तरसहित निर्वाचित भएकी गुरुङले सर्पले डसेका विरामीलाई उपचार खर्च १० हजार र दुई सन्तानसम्म सुत्केरी महिलालाई पोषण आहारका लागि पाँच हजार उपलब्ध गराउने निर्णय गरेकी हुन् ।

गुरुङले गरेको निर्णयमा उक्त वडामा निर्वाचित सम्पूर्ण वडासदस्यले सहमती जनाएका छन् । पदबहाली कार्यक्रममा आफ्नो कार्यकाल वडाको विकासमा केन्द्रीत रहने बताउदै गुरुङले सबै राजनीतिक दल, वडाबासीको सुझावलाई समेटेर आफू अघि बढ्ने बताईन् ।

कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह, जीतपुरसिमराका नवनिर्वाचित उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भरत खड्का, नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका प्रत्याशी भरतबहादुर भण्डारीलगायत विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, स्थानीयको उपस्थिती रहेको थियो ।

उक्त वडामा यमनाथ ढकाल, तेजनारायण चौधरी, रामपती थरुनी र गिता सार्की वडा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्