कलैयामा आठ लाख ६२ हजार बढीको सामान बरामद


eShilalekh

२२ आश्विन २०८३, बिहीबार १०:१९

सिमराः सशस्त्र प्रहरीसहितको टोलीले बाराको कलैया उपमहानगरपालिका-४ का राजेश केशरीको घरबाट आठ लाख भन्दा बढीका सामानहरू बरामद गरेको छ। भन्सार छली ल्याइएका सामानहरू भण्डारण गरी राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर, आन्तरिक राजस्व कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले खानतलासी गरी सामानहरू बरामद गरेको हो ।

केशरीको घरमा खानतलासी गर्दा करिब आठ लाख ६२ हजार आठ सय ६५ रुपैयाँ बराबरको बिलबिजक नभएका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रम मणी अधिकारीले जानकारी दिएका छन् । बरामद गरिएका सामानहरूमा मोबाइलका विभिन्न पार्ट्स तथा सामानहरू, इलेक्ट्रोनिक सामग्रीहरू, किरानाका सामानहरू र सुर्तीजन्य सामग्रीहरू रहेका छन् ।

उक्त सामानहरू आवश्यक छानविनका लागि वीरगन्ज भन्सार कार्यालय बुझाइने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्