जनकपुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, एक गम्भीर घाइते


eShilalekh

२३ आश्विन २०८३, शुक्रबार ११:३९

जनकपुर: धनुषाको जनकपुरधाम उपमहानगरपालिका-५ स्थित रहिमपथ नजिकै बिहीबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार साँझ करिब ७ बजे भएको सो घटनामा सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफीको मृत्यु भएको हो भने सोही क्षेत्रका २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।

धारिलो हतियार प्रहारबाट घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा साफीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम-५ का २२ वर्षीय मोहम्मद इर्साद खानलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण विवाद उत्पन्न हुँदा खानले दुवै युवकको छाती र पेटमा चक्कु प्रहार गरेको खुलेको छ।

हाल मृतक साफीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ भने घाइते राइनको सोही अस्पतालमा उपचार जारी छ। पक्राउ परेका खानमाथि घटनाको कारण र थप पक्षबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्