अपाङ्गमैत्री शौचालय नहुँदा अपाङ्ग विद्यार्थीलाई सास्ती

सिमराः कम्मरभन्दा मुनिको भाग पूर्ण रूपमा नचल्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-२ का २२ वर्षीय आलोक साह उच्च शिक्षा हासिल गरेर भविष्यमा एक सफल राजनीतिज्ञ बन्ने सपना बुन्दै अघि बढिरहेका छन् । तर उनको यो इच्छाशक्ति र मनोबलसामू विद्यालयको अपूरो पूर्वाधार भने तगारो बनिरहेको छ ।
जीतपुरसिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत आलोकका लागि दैनिक विद्यालयको यात्रा र बसाइ अत्यन्तै सास्तीपूर्ण बनिरहेको छ । घरबाट मधेस प्रदेश सरकारबाट प्राप्त इलेक्ट्रिक ट्राइसाइकल चढेर विद्यालय परिसर पुग्ने र त्यहाँ ह्विलचेयर प्रयोग गर्ने आलोकका लागि शौचालय जानु सबैभन्दा ठूलो चुनौती हुने गरेको छ ।
विद्यालयमा अपाङ्गमैत्री शौचालय र र्याम्प नहुँदा उनले हरेक दिन सहपाठी साथीहरूको सहारामा बोकिएर शौचालय आउजाउ गर्नुपर्ने बाध्यता छ । अरूको भर पर्नुपर्ने र साथीहरूलाई झन्झट हुने डरले उनको मानसपटलमा गहिरो मनोवैज्ञानिक असर पारिरहेको छ । यही डरका कारण उनी बिहान घरबाट निस्कँदा पानीसमेत नपिई र खाजा नखाई दिनभर भोकै र प्यासै विद्यालयमा बस्न बाध्य छन् ।

विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्यका अनुसार विगतमा अपाङ्गता भएका विद्यार्थी नभएको र विद्यालयको आन्तरिक स्रोत साधनले मात्र छुट्टै अपाङ्गमैत्री शौचालय निर्माण गर्न कठिन भएकोले समस्या आएको हो । निजी तथा सार्वजनिक कुनै पनि स्थानीय विद्यालयहरूमा यस्तो पूर्वाधार नहुँदा आलोकजस्ता विद्यार्थीले ठूलो सङ्घर्ष गर्नुपरेको छ ।

काठमाडौंको खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेपछि आर्थिक अभावका कारण पढ्न नसकी सिमरा फर्किएका आलोकलाई सुरुमा पूर्वाधार अभावकै कारण भर्ना लिन अस्वीकार गरिएको थियो । पछि नेपाल अपाङ्ग संघ बाराका पूर्वअध्यक्ष गंगाप्रसाद वाग्लेको पहल र शौचालय निर्माणका लागि पहल गर्ने आश्वासनपछि मात्र उनले भर्ना पाएका थिए ।

आलोकको यो शारीरिक अवस्था ११ महिनाको उमेरमा भएको गलत उपचार र सुईको प्रयोगका कारण सिर्जित भएको हो । उनलाई पुनः आफ्नै खुट्टामा उभ्याउन बुवा सुरेश र आमा सुमित्रा देवीले काठमाडौंदेखि भारतको राजस्थानसम्म पुर्याएर उपचार गराए । राजस्थानमा दुई वर्षको पर्खाइपछि भएको शल्यक्रियाले केही सुधार ल्याए पनि निरन्तर उपचारका लागि लागेको ऋण तिर्न साह परिवारले आफ्नो घरसमेत बेच्नुपर्यो ।

अहिले भाडामा बस्दै आएको परिवारका अनुसार चिकित्सकले अझै १० लाख रुपैयाँ खर्च गर्न सके आलोक पूर्ण रूपमा निको हुनसक्ने दाबी गरेका छन् । तर आर्थिक रूपमा कमजोर बनेको साह परिवार अहिले छोराको उपचारका लागि सरकार र सहृदयी मनहरूसँग सहयोगको याचना गरिरहेको छ ।







