पत्रकार र सिमरा भेट्रानबीचको मैत्रीपूर्ण फूटबल खेल बराबरीमा सकियो

सिमरा: जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजक सिमरा भेट्रान क्लब र पत्रकार टोलीबीच खेलिएको मैत्रीपूर्ण फुटबल खेल २-२ को बराबरीमा टुङ्गिएको छ ।
सिमरा रंगशालामा शुक्रबार राति सम्पन्न खेलको पहिलो हाफमा आयोजक सिमरा भेट्रान क्लबले २-० को अग्रता बनाएको थियो । आयोजकका तर्फबाट जय किशोर सहनी (ज्याकी) र सुलभ चौधरीले १-१ गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै पत्रकार टोलीले लगातार दुई गोल गर्दै खेललाई २-२ को बराबरीको अवस्थामा पुर्यायो । पत्रकार टोलीका कप्तान दिवाकर भण्डारी र केदार ढकालले १-१ गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
मैत्रीपूर्ण प्रतिस्पर्धामा पत्रकार टोलीका तर्फबाट कप्तान दिवाकर भण्डारी, केदार ढकाल, जीतलाल श्रेष्ठ, बिनोद परियार, अनिल तिवारी, बेद भट्ट, एस एस पटेल, अखिलेश यादव, अफताफ आलम, उमेश घलान, बिकाश गुरुङ, पवन सिंह, उमेश थपलिया, पुष्कर चालिसे, शिरोमणी रिजाल, रुपेन्द्रलाल चन्द र राजेश महतो मैदानमा उत्रिएका थिए ।

यसैगरी आयोजक सिमरा भेट्रानका तर्फबाट जय किशोर सहनी, सुलभ चौधरी, हरि चौधरी, इश्वर थपलिया, राजकपुर राउत, शिव सुनारी मगर, सुरज थापा मगर, जंगबहादुर थारु, मेघराज अधिकारी, रमेश प्याकुरेल, वसन्त राई, धनलाल श्रेष्ठ, राजकुमार चौधरी र सुजन थापाले प्रतिस्पर्धा गरेका थिए ।








