आर्मीले उचाल्यो जीतपुरसिमरा महिला फूटबलको उपाधि, एपीएफ स्तब्ध


eShilalekh

२५ आश्विन २०८३, आईतवार ००:१४

सिमरा: साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले जीतपुरसिमरा महिला फूटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार राति सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा आर्मीले एपीएफलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका तर्फबाट तुलसा बोहोरा, अनिता लम्जेल, यशोधा शाही र दीपा शाहीले गोल गरे भने बिमला बिकको प्रहार बाहिरिन पुगेको थियो ।

यता एपीएफका लागि गिता राना, निशा थोकर र रश्मि कुमारी घिसिङले मात्र गोल गर्न सके । एपीएफकी कप्तान अनिता बस्नेतको प्रहार आर्मीकी गोलरक्षक कविता बिकले बचाएकी थिइन् भने अन्जना राना मगरको प्रहार पोस्टमा ठोक्किएपछि एपीएफ उपविजेतामै सीमित बन्यो ।

उपाधिसँगै विजेता त्रिभुवन आर्मी क्लबले पाँच लाख ११ हजार एक सय ११ र उपविजेता एपीएफले दुई लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गरेका छन् । विजयी टोली तथा खेलाडीहरूलाई मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई, मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित आर्मीकी गोलरक्षक कविता बिक प्रतियोगिताकै उत्कृष्ट गोलरक्षकसमेत चुनिइन् । प्रतियोगिताभर आठ गोल गरेकी आर्मीकी चन्द्रा भण्डारी सर्वाधिक गोलकर्ता बनिन् भने आर्मीकै राजु तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्ट खेलाडीहरूले जनही १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित एपीएफकी रश्मि कुमारी घिसिङलाई युवा व्यवसायी राजन उप्रेतीले ५१ हजार नगद पुरस्कार प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्