सिमरामा तीन अर्ब ३४ करोडको लगानीमा पाँच तारे ‘भरलेली हस्पिटालिटी’ निर्माण सुरु

सिमराः सिमरामा थप एउटा अत्याधुनिक तथा सुविधासम्पन्न पाँच तारे होटल निर्माण सुरु भएको छ । आतिथ्य क्षेत्रमा नयाँ पहिचान बनाउने लक्ष्यका साथ भरलेली हस्पिटालिटी प्रालिले जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित पथलैया-वीरगन्ज व्यापारिक मार्गसँगै जोडिएको हुलास स्टीलदेखि दक्षिणतर्फको जमिनमा होटलको निर्माण कार्य अगाडि बढाएको हो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गरी औपचारिक संचालनमा ल्याउने लक्ष्य राखिएको होटलको आइतबार शिलान्यास गरिएको छ । पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले होटलको जग पूजा गर्दै शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
यस परियोजनाको नेतृत्व पूर्वमन्त्री श्रेष्ठका जेठा छोरा तथा भरलेली हस्पिटालिटी प्रालिका अध्यक्ष अंकुश श्रेष्ठले गरिरहेका छन् । अंकुशकै प्रत्यक्ष व्यवस्थापन र नेतृत्वमा सञ्चालन हुने यस होटलले मधेसको पर्यटन र व्यावसायिक पूर्वाधारमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार कुल २० हजार चार सय ५३ वर्गमिटर जग्गामध्ये १० हजार आठ सय ९७ वर्गमिटर क्षेत्रफलमा बेसमेन्टसहितको ६ तले भवन निर्माण हुनेछ । होटल परिसरमा नौ हजार चार सय १३ वर्गमिटर खुला क्षेत्र छाडिनेछ भने सात हजार एक सय ५८ वर्गमिटर क्षेत्रफलमा बगैँचा निर्माण गरिनेछ । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत भइसकेको छ ।

कुल तीन अर्ब ३४ करोड ५० लाख रुपैयाँको लगानी अनुमान गरिएको यस होटलमा दुई सय ८० बेड क्षमताका एक सय ५४ वटा अत्याधुनिक र सुविधायुक्त कोठाहरू रहनेछन् । निर्माण कार्यलाई दुई चरणमा पूरा गर्ने योजना बनाइएको छ । जसअन्तर्गत पहिलो चरणमा एक सय चार वटा र दोस्रो चरणमा बाँकी ५० वटा कोठाको निर्माण सम्पन्न गरिनेछ । होटलमा पाहुनाहरूको सहज आवतजावतका लागि तीन वटा अत्याधुनिक लिफ्ट तथा १० वटा भीआईपी सवारी साधनसहित कुल ६१ वटा सवारी साधन सुरक्षित रूपमा अटाउन सक्ने फराकिलो पार्किङ स्थल निर्माण गरिनेछ ।
विश्वस्तरीय सुविधा उपलब्ध गराउने उद्देश्य राखिएको यस होटलभित्र बहुआयामिक रेस्टुरेन्ट, क्यासिनो, अत्याधुनिक जिम, स्पा र स्विमिङ पुल रहनेछन् । विशेष गरी ठूला कर्पोरेट तथा व्यावसायिक कार्यक्रमहरूलाई लक्षित गर्दै होटलमा चार सय जना क्षमताको कन्फरेन्स हल र एक हजार एक सय जनासम्म अटाउने बैंक्वेट हल तयार गरिनेछ।
सिमरा विमानस्थलबाट करिब डेढ किलोमिटर दक्षिण तथा व्यापारिक राजमार्गमै अवस्थित भएकाले भारतीय पर्यटक, अन्तर्राष्ट्रिय अतिथि, कर्पोरेट घराना र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूका लागि यो होटल पहिलो रोजाइ बन्ने विश्वास लिइएको छ।
स्थानीय त्रिलोक बिक्रम शाहले सिमरामा यस्ता ठूला पूर्वाधार थपिनु खुसीको विषय भएको बताउँदै यसले क्षेत्रीय पर्यटन प्रवर्धन, आर्थिक गतिविधि विस्तार र स्थानीय युवाहरूका लागि ठूलो संख्यामा रोजगारीका अवसरहरू सिर्जना गर्ने उल्लेख गरे ।
कम्पनीका अध्यक्ष श्रेष्ठले पनि यो परियोजना केवल एउटा होटल मात्र नभई पथलैया-वीरगन्ज औद्योगिक कोरिडोरमा पर्यटन प्रवर्धन गर्ने र समग्र स्थानीय व्यवसायलाई नयाँ उचाइमा पुर्याउने दीर्घकालीन योजना रहेको बताए ।







