जनकपुर बोल्ट्सद्वारा एनपीएल सिजन-३ का लागि नयाँ जर्सी सार्वजनिक


eShilalekh

२६ आश्विन २०८३, सोमबार १८:२६

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) मा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले सिजन-३ का लागि आफ्नो नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ।

टाइटल पार्टनरहरूको ब्रान्डिङसहित सार्वजनिक गरिएको यस जर्सीलाई टोलीले यस सिजनको ‘रिडेम्प्सन’ अर्थात् पुनरागमनको अभियानसँग जोडेको छ। टोलीको परिचित म्याजेन्टा र नेभी नीलो रङलाई कायम राख्दै यसपटक जर्सीमा पुनरागमन र नयाँ लक्ष्यको प्रतीकका रूपमा सुनौलो रङसमेत थपिएको छ।

जर्सीको माथिल्लो भागमा परम्परागत बुट्टाको डिजाइन तथा तल्लो भागमा कमलको मण्डल अंकित गरिएको छ भने ट्राउजरमा पनि म्याजेन्टा र सुनौलो रङको सुन्दर संयोजन देख्न सकिन्छ। गत सिजनको नतिजाबाट पाठ सिक्दै टोलीले नयाँ संकल्प र यात्रालाई प्रतिबिम्बित गर्ने उद्देश्यका साथ यो जर्सी ल्याएको जनाएको छ।

जर्सी सार्वजनिक कार्यक्रममा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ जर्सी टोलीका लागि केवल पहिरन मात्र नभई सिकाइ, गौरव र लक्ष्यको प्रतीक भएको बताएका छन्। गत सिजनको सिकाइ र मधेशको गौरवलाई यस जर्सीले बोकेको उल्लेख गर्दै उनले सुनौलो रङले यस सिजन हासिल गर्ने लक्ष्यको सम्झना गराउने र यो जर्सी पहिरिने हरेक खेलाडीले मधेशका लागि मनदेखि खेल्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी टोलीका प्रमुख मार्केटिङ अधिकृत उदय पराजुलीले नयाँ पहिचान बनाउनुभन्दा आफ्नो साविक पहिचानलाई अझ बलियो बनाउने उद्देश्यले जर्सी तयार पारिएको स्पष्ट पारे। म्याजेन्टा र नेभी नीलो जनकपुर बोल्ट्सको पहिचान रहेको र सुनौलो रङ यस सिजनको कथा भएको बताउँदै उनले बोल्ट्सका समर्थकहरूले यो जर्सी गर्वका साथ पहिरिने विश्वास व्यक्त गरे।

जनकपुर बोल्ट्सले आफ्नो टाइटल पार्टनर एक्स्ट्रिम इनर्जी ड्रिंक्स, एसोसिएट पार्टनर यङ्गो तथा सिजन-३ को यात्रामा साथ दिने सम्पूर्ण साझेदारप्रति आभार व्यक्त गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने एनपीएलको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले नयाँ जर्सीका साथ मैदानमा उत्रिँदै प्रतिस्पर्धात्मक प्रदर्शन गरेर समर्थकहरूको विश्वास जित्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्