बाराको आधाभार जंगलमा मौरीको टोकाइबाट स्कुटर सवार दम्पती घाइते


eShilalekh

२७ आश्विन २०८३, मंगलवार १५:२२

सिमराः बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जङ्गल खण्डमा उडिरहेको मौरीको समूहले टोक्दा स्कुटरमा सवार एक दम्पती घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २७ वर्षीय आमोद विक र उनकी २८ वर्षीया श्रीमती प्रमिला कुमारी विक रहेका छन् ।

मंगलबार बिहान करिब ११ बजे पिलुवाबाट हेटौंडातर्फ जाँदै गरेको लु.४४ प ३१४४ नम्बरको स्कुटरमा सवार उनिहरुलाई मौरीको समूहले टोकेर घाइते बनाएको हो ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी पथलैयाबाट प्रहरी हवल्दार दीपेन्द्र साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। मौरीको टोकाइबाट घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि सिमरास्थित सिटीस्टार अस्पतालमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्कुटर चालक आमोदको अवस्था मध्यम रहेको छ भने पछाडि सवार उनकी श्रीमती प्रमिलाको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्