ब्रीटानिया नेपालद्वारा पथलैया स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग


eShilalekh

२९ आश्विन २०८३, बिहीबार १०:०५

पथलैया: ब्रीटानिया नेपाल प्रा.लिले बाराको पथलैयास्थित प्राथमिक स्वास्थ्य चौकीलाई १६ प्रकारका आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्थानीयस्तरमा आधारभूत स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ब्रीटानिया नेपालले सामग्री सहयोग गरेको हो ।

पथलैयाका सामाजिक अभियन्ता तथा व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामीको पहलमा कम्पनीले स्वास्थ्य चौकीलाई उक्त सामग्री सहयोग गरेको हो । ब्रीटानिया नेपाल प्रालिका प्रबन्धक संजीव बडेवालले स्वास्थ्य चौकीका कर्मचारीलाई सामग्री हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएको सामग्रीमा अटोक्लेभ मेसिन, ड्रम सेट, पेसि लाइट, अक्सिजन सिलिन्डर सेट, कैँची, निडल कटर, म्यानुअल रक्तचाप मापन उपकरण, दृष्टि परीक्षण चार्ट, प्रोक्टोस्कोप, फेटोस्कोप, थर्मल स्युचर टेप, नी जर्क ह्यामर, ट्युनिङ फोर्क, ब्लड ग्लुकोज स्ट्रिप, अल्कोहल स्वाबलगायत रहेको छ । यससँगै रगतमा ग्लुकोजको मात्रा परीक्षण गर्न प्रयोग हुने एक हजार थान स्ट्रिप र एक हजार थान अल्कोहल स्वाबसमेत उपलब्ध गराइएको छ।

हस्तान्तरण गरिएका सामग्रीले स्वास्थ्यकर्मीलाई नियमित परीक्षण तथा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।मजदुर नेता थामीले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यसको सुदृढीकरणमा सरकारसँगै निजी क्षेत्र र सामाजिक अभियन्ताहरूको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । उनले ब्रीटानिया नेपाल प्रालिले गरेको सहयोगलाई सामाजिक उत्तरदायित्व निर्वाहको सकारात्मक उदाहरणका रूपमा लिन सकिने उल्लेख गरे ।

हस्तान्तरण कार्यक्रममा ब्रीटानिया नेपाल प्रालिका प्रबन्धक बडेवाल, मानव संसाधन विभाग प्रमुख विनोद साह, मजदुर नेता थामी, स्वास्थ्य चौकीका प्रमुख संगिता खरेल, भगवती खड्कालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्