सप्तरीमा जग्गाको सिमाना विवादका क्रममा एक वृद्धको मृत्यु

सप्तरी: सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही टोलमा जग्गाको सिमानालाई लिएर भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय तेतर राय रहेका छन् ।
शनिबार बिहान स्थानीय २७ वर्षीय रघुनन्दन राय र तेतरबीच जग्गाको सिमानाका विषयमा विवाद भएको थियो । सोही विवादका क्रममा रघुनन्दनले तेतरलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रघुनन्दनलाई नियन्त्रणमा लिएको छ भने मृतक तेतर पहिलेदेखि नै मुटुको रोगी रहेको बताइएको छ । घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै अनुसन्धान अघि बढाएको छ ।







