रौतहट: यात्रुवाहक बसबाट प्रतिबन्धित लागूऔषधसहित एक किशोर पक्राउ

रौतहट: रौतहटको गरुडा नगरपालिका-८ स्थित बिर्ता चोकबाट प्रहरीले शनिबार ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-३ कार्की डाँडाका १७ वर्षीय नवीन विक रहेका छन्।
गौरबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ४७०४ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा अवैध लागूऔषधको ओसारपसार भइरहेको फेला परेको हो।
प्रहरीले बसमा सवार यात्रुहरूको झोला तथा सामान खानतलासी गर्ने क्रममा विकको साथमा रहेको झोलाभित्र कालो रङको प्लास्टिकमा बेरिएर लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित सुईजन्य लागूऔषध (एम्पुल) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए।
पक्राउ परेका विकलाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ। उनीमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको डीएसपी गौतमले बताएका छन्।







