परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु

सिमरा: बाराको परवानीपुरमा सर्पको डसाईबाट आइतबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा परवानीपुर गाउँपालिका-५ नौतनकी १० वर्षीया सम्झना कुमारी साह रहेकी छिन् ।
बालिकालाई घरमा सुतिरहेको बेला राति करिब १२ बजे सर्पले डसेको थियो । घटनालगत्तै उनलाई वीरगन्जस्थित नारायणी अस्पतालको सर्पदंश उपचार केन्द्र पुर्याइएपनी चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अस्पताल पुर्याउदा बालिकाको मृत्यु भइसकेको थियो । चिकित्सकले राति १२:३० बजे इसिजी जाँच गरेपछि बालिकालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







