रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


eShilalekh

१६ कार्तिक २०८३, सोमबार १५:०३

रौतहट: रौतहटको बौधीमाई नगरपालिका-७ बंकुलस्थित बंकुल नरकटिया सडकखण्डबाट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्ला घोडसन ग्रामका करिब ३३ वर्षीय टुना दास रहेका छन् ।

प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले बिहिवार दिउँसो बाराबाट रौतहटतर्फ जाँदै गरेको बीआर-०५-एएफ-३७८७ नम्बरको भारतीय मोटरसाइकललाई शङ्का लागेर जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाएर राखिएको रु एक हजार दरका पाँच सय ९३ थान र रु पाँच सय दरका आठ सय १४ थान गरी कुल १० लाख रुपैयाँ बरामद गरिएको छ ।

अवैध रकम र मोटरसाइकलसहित पक्राउ परेका दासलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्