सिमरा खानेपानीद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सिमरा कलेजमा स्नातक तथा स्नाकोत्तर तहको अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताको सन्तानसंग कार्यालयले आगामी शैक्षिक सत्रका लागि आवदेन माग गरेको हो ।
प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति उलपब्ध गराउने गरी खानेपानीको कार्यालय र सिमरा कलेजबीच सम्झौता भएको थियो । सोही सम्झौताअनुसार समितिले मंसिर १ गतेदेखि लागू हुने गरी १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ।
कार्यालयले प्राप्त आवेदन मध्येबाट कर्मचारीको परिवारका दुई र उपभोक्ताका परिवारको तीन गरी पाँच जनाको नाम छात्रवृत्तिका लागि सिमरा कलेजलाई सिफारिस गर्नेछ । छात्रवृत्तिका लागि कर्मचारी र उपभोक्ताको परिवारले आवेदन दिन सक्नेछन् ।
इच्छुक विद्यार्थीले स्नातक तहका लागि निवेदनसहित एसईई र कक्षा १२ उतिर्ण गरेको प्रमाणपत्र, स्नातकोत्तर तहका विद्यार्थीले स्नातक तह उतिर्ण गरेको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सिमरा कलेजको सिफारिस पत्रसहित आवेदन दिनुपर्ने समितिका सूचना अधिकारी निर्जल घिमिरेले जानकारी दिए ।






