वीरगन्जको क्यासिनोबाट कर्मचारीसहित १२ जना पक्राउ

सिमराः वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोबाट प्रहरीले १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति क्यासिनोभित्र अनधिकृत रूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा क्यासिनोभित्र जुवा खेलिरहेका ९ जना र उनीहरूलाई जुवा खेलाउने क्यासिनोका ३ जना कर्मचारी रहेका छन् । प्रहरीले वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ४८ वर्षीय दीपक साह, ३० वर्षीय सन्तोष यादव, २४ वर्षीय अनुराग कुमारलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी पर्सागढीका २६ वर्षीय दिनेश साह, बारा कलैयाका ४० वर्षीय नरेश प्रसाद, काभ्रे महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुली मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार लो र काठमाडौंको साँखुका ४० वर्षीय राजेश श्रेष्ठ पनि पक्राउ परेका छन्।
प्रहरीले क्यासिनोका कर्मचारी बैतडी दोगराकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक भट्ट, वीरगन्जका ३७ वर्षीय प्रभु तुरहा र सिरहाको धनगढीमाईका ४६ वर्षीय दिपक राज पराजुलीलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।





