परवानीपुरको सेन्ट्रल ह्याचरीको स्तरोन्नति हुँदै


eShilalekh

१ असार २०७९, बुधबार १७:२१

सिमराः बाराको परवानीपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालय मातहतमा सन्चालित कुखुरा अनुसन्धान इकाई (ह्याचरी) अब राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रमको रुपमा सन्चालन हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० देखि देखि ह्याचरीको स्तरोन्नति गरी सन्चालन गरिने भएको हो । विक्रम संवत २०१८ सालमा तत्कालीन कृषि विभाग अन्तर्गत सेन्ट्रल ह्याचरीको रुपमा स्थापित ह्याचरीको उद्घाटन तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि सेन्ट्रल ह्याचरी तत्कालीन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको मातहतमा रहने गरी कुखुरा अनुसन्धान इकाई नामकरण गरी सन्चालनमा रहेको थियो ।

६ दशक देखि सन्चालनमा रहेको यो ह्याचरीले देशका विभिन्न भेगका किसानलाई कुखुरा, हाँस, टर्की, बट्टाई लगायतका पंक्षीका चल्ला निःशुल्क तथा सशुल्क समेत बिक्रीवितरण गर्दै आएको छ । गत वर्ष कृषि अनुसन्धान परिषद् (नार्क) ले कुखुरा अनुसन्धान इकाईलाई राष्ट्रिय पंक्षीअनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कुखुरा अनुसन्धान इकाईका वैज्ञानिक अजीतकुमार झाका अनुसार आउदो साउन १ देखि स्वायत्त कार्यालयको रुपमा राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम सञ्चालनमा आउने भएको हो ।

साभारः कान्तिपुर

प्रतिक्रिया दिनुहोस्