राकेशभक्त पौडेल मृत्यु प्रकरणः सडकमै स्थानीयको धर्ना, २४ घण्टादेखि सवारी आवागमन ठप्प


eShilalekh

२ असार २०७९, बिहीबार ११:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ का राकेशभक्त पौडेलको मृत्यु प्रकरणको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीय विरोधमा उत्रिएपछि पथलैया-वीरगंज सडकखण्डको जीतपुरस्थित सडक २४ घण्टादेखी ठप्प छ ।

घटना भएको महिना दिन बितिसक्दा पनि मृत्युको कारण खुल्न नसकेको भन्दै स्थानीयले प्रहरीप्रशासनलाई दवाव दिन सडक अवरुद्ध गरेका हुन् । जीतपुरस्थित दुर्गा मन्दिर अगाडी बुधवार विहान १० बजेदेखि स्थानीयले अवरुद्ध पारेको सडक २४ घण्टादेखि ठप्प छ । स्थानीय सडकमै धर्ना बसेपछि वीरगंजबाट छुटेका मालबाहक सवारीसाधन राजमार्गमै अलपत्र परेका छन् ।

बैशाख २९ गते मृत अवस्थामा भेटिएका पौडेलको हत्या भएको र हत्यामा संलग्न व्यक्तिलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउन स्थानीयले दवाव दिदै आएका छन् । टाउको र शरिरमा चोटपटक लागेको अवस्थामा शव फेला परेको घटनामा प्रहरी अनुसन्धान ढिलो भएको स्थानीयको आरोप छ ।

स्थानीयले अवरुद्ध पारेको सडक खुलाउन बुधवार पटकपटक गरिएको वार्ताको प्रयास असफल भएको थियो । औद्यागिक करिडोरको मुख्य राजमार्ग २४ घण्टादेखी बन्द भएपछि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल सिमरा आएर जनप्रतिनिधि र स्थानीयसंग छलफल गर्ने भएका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले घटनाको अुनसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै अदालतमा लैजाने तयारी भईरहेको बताए । घटनाको अनुसन्धानमा प्रहरीले ढिलाई नगरेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाको भनाई छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुई नाबालकसहित १४ जनालाई नियन्त्रणमा राखेको छ । उनिहरुकै बयानका आधारमा प्रहरीले अनुसन्धान गर्दै आएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताएका छन ।

घटनाको अनुसन्धानका लागि काठमाण्डौबाट प्रहरी निरिक्षक मणिराम थापाको नेतृत्वमा सिआईबीको टोली समेत बारा आएको थियो । सिआईबीको टोलीले आफ्नो प्रतिवेदन बुझाउन बाँकी छ ।

यता घटना भएको २२ दिनपछि पौडेलको पर्स जीतपुरसिमरा वडा नं. ६ र ३ को बीचमा पर्ने शिवमन्दिर नजिक भेटिएको थियो । घटना भएको स्थान भन्दा अन्यत्रै पर्स भेटिएपछि योजनाबद्ध ढंगले हत्या भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्