जब चालकले मोबाईल चोर्ने युवालाई पछ्याए…


eShilalekh

३ असार २०७९, शुक्रबार १२:२५

सिमराः काठमाण्डौबाट वीरगन्जतर्फ आउदै गरेको ना६ख ९०२७ नम्बरको रात्रीबसबाट शुक्रवार विहान तीन जना युवा अमलेखगंजमा ओर्लिए । वीरगन्ज जाने गाडी छाडेर उनिहरु काकरभिट्टा जाने बसमा चढे ।

बसका चालक शिवराम गजुरेलले पूर्व जाने यात्रुले बस परिवर्तन गरेको होला भन्ने बुझे । तर पथलैया नपुग्दै उनले आफ्नो मोबाईल चोरी भएको पत्तो पाए ।

अमलेखगंजमा बस परिवर्तन गर्ने यात्रुमाथी शंका गर्दै वीरगन्ज जाने शिवरामको बस पथलैयाबाट पूर्वतर्फ मोडियो । उनले काकरभिट्टा जाने बसलाई पछ्याए ।

पथलैयादेखी तीन किलोमिटर पूर्वतर्फ रहेको दुधौरा खोलामा बाढी आएका कारण सवारी एकतर्फी संचालनमा थियो । जसका कारण शिवरामले काकरभिट्टाको बसलाई दुधौरा खोलामा भेट्टाए ।

जाममा रोकिएको काकरभिट्टाको बसमा चढेका ति यात्रुलाई आफ्नो मोबाईल फिर्ता दिन उनले आग्रह गरे । तर युवाले मोबाईल आफूहरुसंग नभएको बताए ।

शिवरामले युवाको गोजी छामे र आफ्नो मोबाईल भेट्टाए । यतिबेलासम्म उनिहरु बसबाट सडकमा उत्रिसकेका थिए । तर युवाले मोबाईल फिर्ता दिन मानेनन उल्टै शिवराम माथी हातपात गरे ।

शिवरामविरुद्ध आक्रामक देखिएका युवाले उनको ढाडमा पेजकस रोपे । उनिमाथी कुटपिट गरे । तीन जना युवाले चालकमाथी कुटपिट गर्दा अन्य यात्रु मुकदर्शक बनिरहेका थिए । ढाडमा पेचकस रोपिएपनि शिवरामले युवालाई उम्कन दिएनन् । उनले आफ्नो मोबाईल फिर्ता लिए ।

चालकले मोबाईल फिर्ता लिएपछि आक्रोशित बनेका युवाले कुटपिटको प्रयासलाई रोकेनन् । राजमार्गमा यो घटना भईरहदा एक यात्रु प्रहरीलाई खबर गर्न दौडिए । एकतर्फी आवागमन सहज बनाउन प्रहरी चौकी पथलैयाबाट खटिएका प्रहरीहरु खोला नजिक थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी आईपुगे । प्रहरीलाई खबर भएको सुईको पाउनेवित्तिकै ति युवाहरु जंगल पसे । प्रहरीले घाईते चालकको उद्धार गर्‍यो । उनको अहिले सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य छ ।

जंगल पसेका युवा राजमार्गमा निस्कन सक्ने भन्दै उनिहरुलाई पक्राउ गर्न यतिबेला प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्