बाराको ग्रामीण भेगका विपन्न नागरिकलाई झुल र ब्लाङकेट


eShilalekh

५ असार २०७९, आईतवार १६:५३

सिमराः सशस्त्र प्रहरी परिवार महिला संघले बाराको ग्रामीण बस्तीमा पुगेर एक हजार दुई घर धुरीलाई पोलार ब्लाङकेट र झुल वितरण गरेको छ । संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको नेतृत्वमा काठमाण्डौबाट बारा आएको टोलीले जिल्लाको दुई नगरपालिका र एक गाँउपालिकाको ग्रामिण भेगमा पुगेर विपन्न वर्गलाई ब्लाङकेट र झुल वितरण गरेको हो ।

निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र करैयामाई गाँउपालिकाको विभिन्न वडाका एक हजार दुई घर परिवारले ब्लाङकेट र झुल प्राप्त गरेका हुन् । प्रति व्यक्ति तीन थान झुल र एक थान ब्लाङकेटका दरले संघले कुल तीन हजार ६ सय झुल र एक हजार दुई ब्लाङकेट वितरण गरेको थियो ।

काठमाण्डौंंस्थित फिटवेल गार्मेन्टको सहयोगमा निजगढ नगरपालिकाको वडा नं. ४,६, १२ र १३ मा सात सय परिवार, कोल्हबी नगरपालिकाको वडा नं. ११ मा दुई सय परिवार र करैयामाई गाँउपालिकाको वडा नं. ६ र ७ मा दुई सय ५० परिवारलाई झुल र ब्लाङकेट वितरण गरिएको संघकी अध्यक्ष अर्यालले बताएकी छिन् ।

संघले गर्दै आएको विभिन्न रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने क्रममा झुल र ब्लाङकेट वितरण गरिएको अर्यालले बताईन् । गर्मिको समयमा सुरक्षाको दृष्टिकोणले झुल अति महत्वपूर्ण रहेको भन्दै अर्यालले झुल र ब्लाङकेट वितरणलाई प्राथमिकतामा राखेको अर्यालको भनाई थियो ।

संघले यसअघि पनि प्राकृतिक विपत्तीबाट प्रभावित नागरिक, अति विपन्न तथा असहाय नागरिकलाई राहत वितरण गर्दै आएको बताउदै अर्यालले मानव सेवाको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताईन् ।

सशस्त्र प्रहरीको महिला परिवार संघले गाँउमै आएर झुल र ब्लाङकेट दिएपछि ग्रामीण भेगका स्थानीय खुशी देखिएका थिए । कोल्हबी नगरपालिकाकी सरिता चौधरीले गाँउमै आएर जनतालाई अति आवश्यक पर्ने सामाग्री दिएको भन्दै खुशी व्यक्त गरिन् ।

कोल्हबी नगरपालिकाको रामपूर्वामा आयोजित कार्यक्रममा नगर प्रमुख रामप्रसाद चौधरी,, फिटवेल गार्मेन्टका संचालक मनोज भारती, समाजसेवी विनोद भारतीलगायतले महिला संघलाई धन्यवाद दिएका थिए । संघलाई झुल र ब्लाङकेट सहयोग गरेका फिटवेल गार्मेन्टका संचालक भारतीले देशमा भएका ठुला विपत्तीमा नागरिकको घरदैलोमा पुगेर सहयोग गर्दै बताउदै सामाजिक सेवाको अभियानमा आफू सधै तत्पर रहने बताए ।

फिटवेल गार्मेन्टका संचालक मनोज भारतीलाई सम्मान गर्दै वडाध्यक्ष सुर्य घलान ।

यसैगरी करैयामाई गाउँपलिकामा आयोजित कार्यक्रममा अध्यक्ष शम्भुप्रसाद यादव, निजगढको भक्तलालमा आयोजित कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान लगायतले सम्बोधन गर्दै संघले गरेको कार्यको प्रशंसा गरेका थिए । भुल र ब्लाङकेट लिएर गाँउ गाएका संघका पदाधिकारीलाई निजगढ भक्तलानका स्थानियले पञ्चेबाजाले स्वागत गरेका थिए ।

संघकी अध्यक्ष अनिता लामिछाने अर्याल ।

तीन पालिकाको छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा संघकी उपाध्यक्ष सावित्राकुमारी जैसी, सदस्य सचिव पुलमाया ठाडामगर, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, निजगढ नगरपािलका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, करैयामाई गाउपलिकाका वडा अध्यक्ष राजकुमार चौधरी, कोल्हबी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष वृज चौधरी, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सशस्त्र प्रहरी उपरिक्षक सञ्जय भट्टराईले गरेका थिए ।

कोल्हबी नगर प्रमुख रामप्रसाद चौधरी
निजगढ भक्तलालका स्थानीय ।

प्रतिक्रिया दिनुहोस्