उपप्रमुख बोल्दाबोल्दै प्रमुखले माईक खोस्न खोजेपछि..


eShilalekh

१० असार २०७९, शुक्रबार १९:४९

सिमराः अन्यौलमा रहेको जीतपुरसिमराको नगर सभाको विषयमा उपप्रमुख भोलाप्रसाद अधिकारीले आफ्ना भनाई राख्दै गर्दा नगर प्रमुख राजन पौडेलले अत्यन्तै अमर्यादित शैली देखाएका छन् ।

उपप्रमुखले बोलिरहेकै बेला पौडेलले पटकपटक माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको सभाका विषयमा नगर सभा सदस्यलाई सम्बोधन गरिरहेका उपप्रमुखको माईक खोस्ने प्रयास गरेका पौडेल आक्रोशित देखिन्थे ।

आफ्नो र उपप्रमुखको पदिय गरिमा बिर्सिदै प्रमुख पौडेलले माईक खोस्न थालेपछि पत्रकारले उपप्रमुखलाई ‘बोल्न दिनु’ भन्दै आग्रह गरेका थिए ।

प्रमुख पौडेलले यसअघि वडा नं. ३ का अध्यक्ष तारा कार्कीले आफ्ना भनाई राख्ने क्रममा पनि माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको नगर सभाको विषयमा छलफलबाट निष्कर्ष निकाल्नुपर्ने वडाध्यक्षको मागका विषयमा आफ्नो भनाई राखेका प्रमुख पौडेलले लगत्तै वडाध्यक्ष कार्कीले बोल्ने क्रममा माईक खोस्ने प्रयास गरेका थिए ।

कार्यक्रममै वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल बोल्ने क्रममा माईक खोसेका थिए । प्रमुख प्रशासकीय अधिकृत पोखेलले नगर सभा स्थगित गर्ने कुरा चलेको र विधिवतरुपमा सभाको सुरुवात गर्न राष्ट्रिय धुन बजाउन आग्रह गरेलगत्तै कार्कीले माईक खोसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्