लागुऔषधविरुद्ध बारामा विभिन्न सचेतनामुलक कार्यक्रम


eShilalekh

१२ असार २०७९, आईतवार २३:३०

सिमराः लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्र्तराष्ट्रिय दिवसको अवसरमा बारामा विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । प्रत्येक जुन २६ तारिकका दिन मनाईने दिवसका अवसरमा सिमरामा आईतवार विहान लागुऔषधविरुद्ध हस्ताक्षर संकलन र सचेतनामुलक र्‍याली सम्पन्न गरिएको छ ।

लागुऔषध प्रयोगकर्ताको उपचार र पुर्नस्थापनाको क्षेत्रमा काम गर्दै आएको नयाँ गोरेटो पुर्नस्थापना केन्द्र, सिमरा पुर्नस्थापना केन्द्र (विश्वास), ईलाका प्रहरी कार्यालय सिमराको आयोजना र रिकभरिङ नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

लागुऔषधविरुद्धको अभियानमा ऐक्यवद्धता जनाउदै जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतले हस्ताक्षर गरेका थिए । दिवसका अवसरमा सन्देशमुलक ब्यानर तथा पम्प्लेटसहित सचेतनामुलक र्‍याली निकालिएको थियो ।

कार्यक्रममा जीतपुसिमरा उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष तारा कार्की, वडा नं. १ का सदस्य अमन लामा, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामा, सिमरा पुर्नस्थापना केन्द्रका अध्यक्ष श्याम लामा, अनेरास्ववियु नगर कमिटी अध्यक्ष ईश्वर बस्नेतसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, न्यु एकता बोर्डिङ स्कुलका विद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।

पथलैयामा दीप प्रज्वलन

दिवसकै अवसरमा पथलैयामा साझ दीप प्रज्वलन गरिएको थियो । रिकभरिङ नेपाल र प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्य तथा नयाँ गोरेटो पुर्नस्थापना केन्द्र र सिमरा पुर्नस्थापना केन्द्रको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाका अध्यक्ष कल्याण आले, होली गार्डेन इङलिस बोर्डिङ स्कुलका प्रिसिन्पल भुवन राई, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोक विक्रम शाहलगायत स्थानीय युवाको सहभागिता रहेको थियो । पथलैयास्थित मुख्य चोकमा दीप प्रज्वलन कार्यक्रमको गरिएको हो ।

कलैयामा चेतनामुलक र्‍याली
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्र्तराष्ट्रिय दिवसको अवसरमा बाराको कलैयामा चेतनामुलक र्‍याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बारा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कलैया र मनकामना इङलिस बोर्डिङ संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षता र जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यतामा निकालिएको र्‍यालीमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापा, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, समुदाय-प्रहरी सेवा केन्द्रका अध्यक्ष मो. सगिर, सचिव जंगबहादुर यादव, महिला तथा बालिबालिका संस्था बाराकी अध्यक्ष बबिता जयसवाल, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दाससहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, व्यवसायी, स्थानीयको उपस्थिती रहेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट निकालिएको र्‍याली बजार परिक्रममा गरी भरतचोकमा पुगेर सम्पन्न भएको थियो । भरतचोकमा आयोजित सभालाई सम्बोधन गर्दै वक्ताले लागुऔषध प्रयोगको नियन्त्रणका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्