जीतपुरसिमराको स्थगित नगर सभा आज बस्ने, निकास निकाल्न छलफल हुँदै


eShilalekh

१३ असार २०७९, सोमबार १०:०४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित छैठौं नगर सभा सोमबारका लागि बोलाइएको छ । गणपूरक संख्या नपुगेको कारण देखाउदै असार १० गते स्थगित गरिएको सभा दोस्रो पटक बोलाइएको हो ।

बकुलिया क्याम्पसको सभाहलमा दिउसो २ बजेका लागि बोलाइएको सभाको विषयमा नगरसभा सदस्य भने अन्यौल देखिएका छन् । अघिल्लो पटक स्थगित गरिएको सभा अघि बढाउने विषयमा कार्यपालिका बैठकमा छलफल नहुँदा नगरसभा सदस्यहरु अन्यौलमा देखिएका हुन् ।

नगरसभा स्थगित भएयता कार्यपालिका बैठक बसेको छैन् । नगरसभा संचालन नियमावलीमा नगर सभामा ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित नभए त्यसको तीन दिन भित्र अर्को नगरसभाका लागि सूचना जारी गर्नुपर्ने प्रावधान छ ।

तीन दिन भित्र अर्को सभा बोलाउन सकिने भएपनि नगर प्रमुख राजन पौडेलले असार १० गते रातीनै नगरसभाका लागि अर्को सूचना जारी गरेका थिए । मोबाईल म्यासेज र फेसबुकमा सूचना जारी गर्दै सभा बोलाइएपनि कार्यपालिका सदस्यले यसअघि राखेका मागका विषयमा छलफल हुन सकेकौ छैन् ।

कार्यपालिका सदस्यले निति तथा कार्यक्रम र वडा सिलिङको निर्णय कार्यपालिका बैठकबाट हुनुपर्ने र कार्यपालिका बैठकले अनुमोदन गरेपछि मात्रै नगरसभामा लैजानुपर्ने माग राखेका थिए । उक्त मागका विषयमा नगर प्रमुख र कार्यपालिका सदस्यबीच दोहोरो संवाद हुन सकेको छैन् ।

संवाद र छलफलनै नगरी दोस्रोपटक नगर सभा बोलाएकोमा कार्यपालिका सदस्यले असन्तुष्टी समेत जनाएका छन् । दोस्रो नगरसभा बोलाउने विषयमा नगर प्रमुख पौडेलले उपप्रमुख भोलाप्रसाद अधिकारीसंग समेत समन्वय नगरेको बुझिएको छ । उपप्रमुख अधिकारीले मोबाईलमा म्यासेज आएपछि मात्रै दोस्रो सभा बोलाइएको विषयमा जानकारी पाएका थिए ।

‘नगर सभा स्थगित भएपछि छलफल गरेर अर्को सभा बोलाउन सकेको भए सकारात्मक सन्देश जानुका साथै निकास निकाल्न सहज हुने थियो’ उपप्रमुख अधिकारीले भने ‘तर म आफैले पनि म्यासेजमार्फत थाहा पाए । समन्वयमा कमी भयो कि भन्ने महसुस मैले गरेको छु ।’

जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेलले कार्यपालिका सदस्यसंग समन्वय गरेर अघि बढ्न नगर प्रमुख पौडेललाई सुझाव दिएका छन् । नेकपा एमालेबाट निर्वाचित खरेलले नगर सभा संचालन गर्ने विषयमा नगर प्रमुखले अभिभावकको भूमिका खेल्नुपर्ने बताए । निति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकबाट अनुमोदन गरेर नगर सभामा लैजानुपर्ने कार्यपालिका सदस्यको मागलाई सम्बोधन गरेर अघि बढ्न नगर प्रमुखलाई उनले सुझाव दिए ।

‘हामीले अनावश्यक माग राखेका छैनौ । निति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट अनुमोदन गरेर अघि बढौं भनेको मात्रै हो’ खरेलले ईशिलालेखलाई भने ‘तर नगरसभा स्थगित भएपछि पनि यो विषयमा संवाद र छलफल नहुनु दुःखद् हो ।’

नगर सभाका संचालन गर्ने विषयमा नगर प्रमुख पौडेलले कार्यपालिका सदस्यसंग छलफल गर्न रुची नदेखाएपछि केही वडाध्यक्षले छलफलको वातावरण बनाएका छन् । वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङले नगर प्रमुखले कार्यपालिका बैठक नबोलाएपछि दलिय प्रतिनिधि हुने गरी केही वडाध्यक्ष बसेर छलफल गर्ने तयारी रहेको बताए । नगर प्रमुख र उपप्रमुखसंग बस्ने गरी सोमबार बिहान ८ बजेका लागि तय भएको छलफल मौसमका कारण प्रभावित भएपनि केही ढिलो गरी बस्ने भएको छ ।

नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षबीच हुने छलफलमा निति तथा कार्यक्रम र वडाको सिलिङका विषयमा छलफल हुनेछ । उक्त छलफलमा सहमती भए तत्काल कार्यपालिका बैठक बसेर अनुमोदन गरेर सभामा लगिने तयारी भएको छ । वडा नं. १० का वडाध्यक्ष संजय पटेलले बैठकबाट निकास निस्कनेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्