निजगढ विमानस्थल निर्माणको माग राख्दै जारी अनसन स्थगित


eShilalekh

१७ असार २०७९, शुक्रबार ११:४०

सिमराः निजगढ विमानस्थल निर्माणको माग राख्दै बाराको निजगढमा २४ दिनदेखी जारी अनसन स्थगित भएको छ । सर्वोच्च अदालतले गत जेठ १२ गते गरेको आदेशको पूर्णपाठमा निजगढलाई निषेध नगर्ने उल्लेख भएपछि अनसन स्थगित भएको हो ।

सर्वोच्चको पूर्णपाठमा निजगढलाई पनि विकल्पका रुपमा अघि बढाउन सकिने र पर्यावरणलाई ध्यानमा राखेर विमानस्थल निर्माणको काम अघि बढाउन सकिने उल्लेख छ । सर्वोच्चको पूर्णपाठपछि स्थानीयले निजगढ चोकमा जेठ २४ गतेदेखी थालेको अनसन स्थगित गरेका हुन् ।

सर्वोच्चको पूर्णपाठले कुनै ठाँउ विशेषलाई बन्देज नलगाएको र वातावरण तथा प्राविधिक दृष्टिले उपयुक्त हुने स्थानमा विमानस्थल निर्माण गर्नु भन्ने उल्लेख छ । यसअघि गत जेठ १२ आएको आदेशमा निजगढ विमानस्थलका सम्बन्धमा सरकारले गरेका सबै निर्णय खारेज गर्ने उल्लेख थियो ।

सर्वोच्चको आदेशपछि आन्दोलित बनेका स्थानीयले निजगढ विमानस्थल निर्माणको कामलाई रोक्न नहुने भन्दै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख नेता, सरकारका मन्त्रीलगायतलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । निजगढ सरोकार समितिको अगुवाईमा भएको आन्दोलनका क्रममा स्थानीयले विमानस्थल निर्माणको काम रोक्ने निर्णय विकास विरोधी रहेको भन्दै पुनरावलोकन गर्न माग गर्दै आएका थिए ।

अनसन स्थगित भएपछि निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले राज्यको ठुलो रकम खर्च भईसकेको स्थानमै विमानस्थल बनाउनुपर्नेमा जोड दिए । वातावरणीय र प्राविधिक हिसाबले उत्कृष्ट ठहरिएर करोडौ रकम खर्च भईसकेको योजनलाई अलपत्र पारेर अन्यत्र लैजाने कुरा सान्दर्भिक नहुने श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्