प्रधानमन्त्री देउवासहित शिर्ष नेता र मन्त्री शनिवार निजगढ आउँदै


eShilalekh

१७ असार २०७९, शुक्रबार २१:३४

सिमराः निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरिक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेता र मन्त्रीको टोली शनिवार बारा आउने भएका छन् । सर्वोच्च अदालतको पूर्णपाठले विमानस्थल निर्माणका लागि बाटो खुलेलगत्तै प्रधानमन्त्री देउवासहितको टोली निजगढ आउन लागेका हुन् ।

यसअघि जेठ १२ गते सर्वोच्चले सरकारको सम्पूर्ण निर्णय बदर गरिदिएपछि अन्यौलमा रहेको विमानस्थल निर्माण प्रक्रिया एक महिनापछि आएको पूर्णपाठले खुल्ला गरेको थियो । कुनै पनि स्थानलाई निषेध नगरी पर्यावरणसम्बन्धी मापदण्ड पूरा गरी विमानस्थल निर्माण गर्न सकिने पूर्णपाठमा उल्लेख भएपछि निजगढमा विमानस्थल निर्माणको कामलाई निरन्तरता दिने बाटो खुलेको हो ।

टांगियावस्ती ।

सर्वोच्चको पूर्णपाठसंगै नेपाली सेनाको हेलिकप्टर लिएर बारा आउन लागेका प्रधानमन्त्री देउवासंग पूर्व प्रधानमन्त्रीद्धय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ र वन तथा वातावरण मन्त्री रामसहाय यादव पनि आउने बुझिएको छ ।

प्रधानमन्त्रीसहित शिर्षस्थ नेताको भ्रमण अचानक तय भएपछि बारामा सुरक्षा निकायको आकस्मिक बैठक सुरु भएको छ । बाराका प्रमुख जिल्ला अधिकारीसहित निजगढमा बसिरहेको सुरक्षा निकायका प्रमुखको बैठकले प्रधानमन्त्रीसहित शिर्ष नेताको कार्यक्रम र सुरक्षाका विषयमा तयारी गरिरहेको छ ।

बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक राजेश थापाले प्रधानमन्त्रीसहित शिर्ष नेताको बारा भ्रमणका विषयमा आधिकारिक जानकारी भने नआएको बताए । ‘हामीलाई आधिकारिक जानकारी त आएको छैन्’ थापाले ईशिलालेखसंग भने ‘तर भ्रमणको बारेमा सुनेलगत्तै त्यस विषयमा छलफल गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्