बडहर्वास्थित सहकारीको कार्यालयमा चोरी, एकैरातमा करिब १३ लाख चोरियो


eShilalekh

२२ असार २०७९, बुधबार ००:४१

सिमराः जीतपुरसिमरा १८ स्थित साना किसान कृषी सहकारी संस्था लिमिटेडको बडहर्वास्थित कार्यालयमा चोरी भएको छ । कार्यालयबाट आईतवार राती १२ लाख ७४ हजार भन्दा बढी नगद चोरी भएको हो ।

मध्यरातमा ताला फुटाएर कार्यालय भवनभित्र पसेको चोरले सिसि क्यामेरा र बिजुलीको लाईन बन्द गरेर चोरी गरेको थियो । कार्यालयभित्र सम्म प्रवेश गरेको र सिसिटिभी क्यामरा बन्द गरेसम्मको भिडियो सिसिटिभी क्यामरामा कैद रहेको कार्यालयले जनाएको छ ।

भवनभित्र प्रवेश गर्ने वित्तिकै क्यामरा र बिजुली बन्द गरेको चोरले सुरक्षाका लागि लगाइएको विभिन्न ताला फुटाएर रकम चोरी गरेको प्रवधन्क पुष्पराज खतिवडाले जानकारी दिए ।

भवनको पछिल्लो ढोकाबाट प्रवेश गरेको चोरले किसानले बुझाएको चेक र कार्यालयको कम्प्युटर, ल्यापटपबाहेक नगद मात्रै चोरेर लगेको खतिवडाको भनाई छ ।

कार्यालयमा चोरी भएको विषयमा सोमबार विहानमात्रै कर्मचारीले जानकारी पाएका थिए । कार्यालय सहयोगीले कार्यालय खोल्ने क्रममा चोरी भएको थाहा पाएपछि अन्यलाई खबर गरेका थिए । घटनापछि पुगेको प्रहरी टोलीले मुचुल्का उठाउदै अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्