सामाजिक सद्भावका लागि सञ्जाल

भौगोलिक हिसाबले नेपाल विश्व मानचित्रमा सानो राष्ट्र देखिए तापनि बहुजाति बहुसांस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छवि भएको देश हो। अक्षांशको हिसाबले हेर्ने हो भने प्रत्येक किलोमिटरमा भौगोलिक बनावट, वातावरण र संस्कृतिमा विविधता देखिन्छ। यिनै विशेषताले गर्दा नेपाल विश्वमा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। नेपाली संस्कृति भन्नेबित्तिकै भेषभूषा, सामाजिक रीतिरिवाज, धार्मिक मेला, पर्व, खानपान, जीवनशैली आदि पर्छन्। यसमा अझ मौलिकपन आकर्षण बनेको छ। सामाजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको हुन्छ। नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी छन् भने अन्य विभिन्न धर्ममध्ये ९ वटा मुख्य धार्मिक संगठन र सम्प्रदायलाई समावेश गरी अन्तरधार्मिक सञ्जालको अवधारणा विकास गरिएको छ।
विविध धर्म, सम्प्रदायका प्रतिनिधि रहेको सञ्जाल र स्थानीय सरकारबीच तादात्म्य सम्बन्ध कायम गरी धर्म, संस्कृतिका नाममा प्रचलित संस्कारहरू जातजाति, छुवाछुत, भेदभावपूर्ण व्यवहार, महिला तथा बालबालिका हिंसालगायत परम्परागत हानीकारक अभ्यास हुने गरेको छ। त्यसविरुद्धको अभियानमा अन्तरधार्मिक सञ्जाललाई उपयोग गरी स्थानीय तहले सबै खाले सामाजिक एवं धार्मिक हानिकारक अभ्यासलाई अन्त्य गर्न जरुरी रहेको छ। नेपालको मौलिक विशेषता भनेकै विविधतामा एकता हो। विश्वका प्रमुख धर्ममध्ये अधिकांश धर्म, सम्प्रदायका व्यक्तिहरू नेपालमा आपसमा मिलेर रहेको अवस्था छ। विश्वमै धार्मिक सहिष्णुता कायम भएको देश भन्नेबित्तिकै नेपालको नाम अग्रस्थानमा आउँछ।