व्यवस्थापन समितिको अध्यक्षका रुपमा काम गर्न गुप्तालाई उच्च अदालतको परमादेश


eShilalekh

२९ असार २०७९, बुधबार २०:०७

सिमराः जीतपुरसिमरा ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका रुपमा काम गर्न वडाध्यक्ष सुनिल गुप्तालाई बाटो खुलेको छ ।

उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जले उपमहानगरपालिकाको शिक्षा ऐनमा व्यवस्था भए बमोजिम कार्यान्यवन गर्न परमादेश जारी गरेपछि गुप्ताको लागि बाटो खुलेको हो ।

यसअघि निवर्तमान वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामबाबु गुप्ताले दिएको रिटमा उच्च अदालतले वडाध्यक्ष गुप्ताविरुद्ध अल्पकालिन आदेश जारी गरेको थियो । उक्त रिटका विषयमा भएको बहसपछि अदालतले अल्पकालिन आदेश स्थगन गर्दै शिक्षा ऐनमा व्यवस्था भएबमोजिम गर्न परमादेश दिएको हो ।

अदालतको परमादेशपछि वडाध्यक्ष गुप्ता नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने भएका छन् । उपमहानगरपालिकाको शिक्षा ऐनमा वडाध्यक्ष वा वडा समितिले सिफारिस गरेको वडासदस्य, अभिभावक, शिक्षाप्रेमी र समाजसेवीमध्ये एक जना व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान छ ।

सोही प्रावधान अन्तर्गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुनिल गुप्ताले अघिल्लो समिति विगठन गर्दै विद्यालय व्यवस्थापन समितिको नयाँ कमिटि गठन गरेर अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । तर पूर्ववडाध्यक्ष रामबाबु गुप्ताले नवगठित समिति नियमसंगत नरहेको भन्दै अदालतमा रिट दायर गरेका थिए ।

गुप्ताद्धारा दायर गरिएको रिटमा निवेदकको तर्फबाट अधिवक्ता रामेश्वर सेढाई र विपक्षीको तर्फबाट अधिवक्ता श्यामबिहारी प्रसाद कुशावाहा र अधिवक्ता दामोदर पौडेलले गरेको बहसपछि उच्च अदालतले वडाध्यक्ष गुप्ताको पक्षमा परमादेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्