जीतपुरसिमराः नगरसभाको अन्यौलता समाधान गर्न कार्यपालिका वैठक बस्दै


eShilalekh

२९ असार २०७९, बुधबार २१:३८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित नगरसभाको अन्यौलता समाधान गर्न विहिवार कार्यपालिका बैठक बस्ने भएको छ । यसअघि दुई पटकसम्म स्थगित भएको नगरसभाको विषयमा टुंगो लगाउन कार्यपालिका बैठक बस्न लागेको हो ।

असार १० र १३ गतेका लागि बोलाइएको नगरसभा निति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर स्थगित भएको थियो । नगर सभा स्थगित भएयता कार्यपालिका बैठक बस्न नसकेपछि अन्यौलता बढ्दै गएको थियो । नगरसभाको विषयमा रहेको विवाद समाधान गर्न विहिवार दिउसो तीन बजेका लागि बैठक बोलाइएको छ ।

निति तथा कार्यक्रम र बजेटको विषयमा कार्यपालिका बैठकमा छलफल भएपछि मात्रै नगरसभामा लैजानुपर्ने कार्यपालिका सदस्यको मागपछि यसअघिको नगरसभा स्थगित भएको थियो । कार्यपालिका सदस्यको मागपछि नगर प्रमुख राजन पौडेलले यसअघिका दुई वटा नगर सभा बहुमत संख्या नपुगेको कारण देखाउदै स्थगित गरेका थिए ।

स्थगित नगर सभाको विवाद समाधान गर्न दलिय प्रतिनिधित्व हुने गरी कार्यपालिका सदस्यसंग छलफल गरेर अघि बढ्ने सहमती पनि भएको थियो । सोही सहमती अनुरुप प्रतिनिधिमुलक कार्यपालिका सदस्यबीच भएको पटकपटकको छलफलमा निकास निस्कन सकेको थिएन् ।

छलफलमा एमालेबाट निर्वाचित वडाध्यक्ष हरिदेव खरेल, तारा कार्की, नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हिराबहादुर गुरुङ, चर्तुरवावु वाग्ले, नेकपा माओवादी केन्द्रबाट निर्वाचित भोजबहादुर खत्री, रामप्रसाद लामिछाने, नेकपा एकिकृत समाजवादीबाट निर्वाचित सञ्जय पटेल र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित मोतिलाल यादव सहभागी हुदै आएका थिए । नगर प्रमुख पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी र कार्यपालिका सदस्यबीच भएको पटकपटकको छलफलले विवाद टुंगाउन नसकेपछि कार्यपालिका बैठकबाटै समाधान खोज्न लागिएको हो ।

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यले निति तथा कार्यक्रम र बजेटको विषयमा राखेको मागलाई सम्बोधन गरेर अघि बढ्ने तयारी नगर प्रमुख र उपप्रमुखको छ । कार्यपालिका सदस्यको मागका विषयमा प्रमुख र उपप्रमुख केही लचक भएर कार्यपालिका बैठकमा प्रस्तुत हुने देखिएको छ ।

यसअघि प्रस्तावित निति तथा कार्यक्रम र वडाको बजेट अनुसारनै नगर सभा हुनुपर्ने नगर प्रमुखको अडानपछि विवाद उत्पन्न हुदै भएको थियो । कार्यपालिका बैठकमा छलफलनै नगरी नगर प्रमुख पौडेलले निति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत गर्ने देखेपछि एमाले, कांग्रेससहितका दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यले असहमती जनाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्