जीतपुरसिमराको स्थगित नगर सभा असार ३२ गते हुने


eShilalekh

३० असार २०७९, बिहीबार २०:२९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित नगरसभा असार ३२ गते हुने भएको छ । उपमहानगरपालिकाको कार्यालयमा विहिवार बसेको कार्यपालिका बैठकले सभाको अर्को मिति तय गरेको हो ।

यसअघि असार १० र १३ गतेका लागि बोलाइएको नगर सभा निति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर स्थगित भएको थियो । कार्यपालिका बैठकमा निति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गरेपछि सभाको मिति तोकिएको हो ।

बैठकमा नगर प्रमुख राजन पौडेलले प्रस्तुत गरेको वार्षिक योजना, कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । यसअघि प्रस्ताव गरिएको वडाको सिलिङलाई परिमार्जन गर्दैै नगर प्रमुख पौडेलले रकम थप गरेर बैठकमा प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित करिब एक अर्ब ५६ करोड बजेटमध्ये ३२ करोड वडाको सिलि»का लागि प्रस्ताव गरिएको छ । यसअघि नगर प्रमुख पौडेलले पहिलो पटक २८ करोड र दोस्रो पटक ३० करोड रकम छुट्याउदै कार्यपालिका सदस्यमाझ प्रस्ताव राखेका थिए ।

प्रमुख पौडेलले यसअघि राखेको उक्त प्रस्तावको विषयमा कार्यपालिका बैठकमा छलफल समेत हुन सकेको थिएन् । कार्यपालिका बैठकमा छलफल नहुँदै नगरसभा आवहान गरिएपछि कार्यपालिका सदस्यले असन्तुष्टी जनाएपछि यसअघिको सभा स्थगित भएको हो ।

नगर सभा स्थगित भएपछि लामो समय अन्यौलको स्थितीमा रहेको सभाको टुंगो लगाउन बैठक बसेको थियो । बैठकमा नगर प्रमुख पौडेलले भुगोल र जनसंख्याका आधारमा २४ वटा वडालाई ३२ करोड रकमबाट सिलिङ प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव अनुसार सबैभन्दा बढी बजेट प्राप्त गर्ने वडा नं. १६ र कम बजेट प्राप्त गर्ने वडा नं. १३ रहेको छ । वडा नं. १६ ले दुई करोड तीन लाख २४ हजार एक सय ५७ र वडा नं. १३ ले एक करोड पाँच लाख २१ हजार सात सय ३५ रुपैया वडा सिलिङ प्राप्त गर्नेछन् ।

आर्थिक वर्ष २०७९।०८० का लागि प्रस्तावित वडाको सिलिङ ।

प्रतिक्रिया दिनुहोस्