पचरौता नगरपालिकामा स्वास्थ्य सेवा पनि ठप्प, नगर सभा अन्यौलमा


eShilalekh

३ श्रावण २०७९, मंगलवार २०:२७

सिमराः कार्यालय प्रमुख नै सम्पर्कविहीन भएपछि पचरौता नगरपालिकाको सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको छ । नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव लामो समयदेखी कार्यालयमा उपस्थित नहुँदा प्रशासनीकसंगै स्वास्थ्य सेवा समेत प्रभावित बन्न पुगेको कार्यालयले जनाएको छ ।

नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहिन हुँदा कार्यालयको सेवा प्रभावित हुन पुगेको बताएका छन् । नगरसभा सम्पन्न हुन नसकेका कारण करारका कर्मचारी नविकरण गर्न र नयाँ कर्मचारी पदपूर्ति गर्न कानुनी बाध्यता रहेकाले सेवा संचालन गर्न असमर्थ रहेको नगर प्रमुखद्धारा मंगलवार जारी सूचनामा उल्लेख गरिएको छ ।

नगर प्रमुखले सूचना जारी गर्दै पचरौता नगरपालिकाभित्रको नगर अस्पताल, बर्थिङ सेन्टर र पिपरपाती स्वास्थ्य चौकीका ल्याबहरुको सेवा प्रभावित हुन पुगेको जानकारी गराएका छन् । नगरपालिकाले यसअघि नगर सभा हुन नसकेका कारण करारका कर्मचारीको नविकरण हुन नसकेको सूचना जारी गरेको थियो ।

नगर सभा हुन नसकेका कारण नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन् । निति तथा कार्यक्रम र बजेट ल्याउन नसक्दा प्रशासनीकसंगै स्वास्थ्य सेवा प्रभावित हुन पुगेको नगर प्रमुख जैसवारको भनाई छ ।

नगर प्रमुख जैसवारले २३ जना करारका कर्मचारीले सेवा दिदै आएको स्वास्थ्य संस्था नगर सभा हुन नसकेकै कारण बन्द हुने अवस्थामा पुगेको प्रमुख जैसवारले जानकारी दिए ।

‘हामीले बाध्य भएर स्वास्थ्य सेवा बन्द गर्नुपरको छ । नगरबासीका लागि अतिआवश्यक स्वास्थ्य सेवा ठप्प हुन पुग्नु दुःखद् हो’ नगर प्रमुख जैसवारले भने ‘तर नगर सभा नभएका कारण करारका कर्मचारीको म्याद थप हुन सकेको छैन् । म्याद थप हुन नसक्दा कर्मचारीले सेवामा रहेका छैनन् । त्यसैले स्वास्थ्य सेवा ठप्प हुन पुग्यो ।’

स्वास्थ्य सेवा नै ठप्प गर्नुपरेको सूचना जारी गरेका नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि मन्त्रालयमा पटकपटक पत्राचार गर्दा पनि वेवास्था गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी, शिक्षकलगायतको तलब सुविधा समेत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्