प्रेस युनियन महाधिवेशनः बाराबाट सात जनाको उम्मेदवारी, पुडासैनी निर्विरोध


eShilalekh

६ श्रावण २०७९, शुक्रबार २१:४९

सिमराः नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनले चयन गर्ने नेतृत्वका लागि बाराबाट सात जनाले उम्मेदवारी दिएका छन् । हेटौडामा जारी महाधिवेशनको निर्वाचन प्रक्रियामा जिल्लाबाट केन्द्रीय पदाधिकारीसहित विभिन्न पदमा सात जनाको उम्मेदवारी परेको हो ।

युनियनको खुल्लातर्फको केन्द्रीय सचिवमा गुरुप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । संस्थापन ईतर समुहका गौतम नेपाल पत्रकार महासंघको मधेस प्रदेश कमिटीका पूर्वसचिव र नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष हुन् ।

यसैगरी खुल्लातर्फको केन्द्रीय सदस्य पदमा सिकेन्द्र पासवानले उम्मेदवारी दिएका छन् । पासवान नेपाल पत्रकार महासंघको पूर्व मधेस प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै मधेस प्रदेशको भुगोलतर्फको केन्द्रीय सदस्य पदका लागि गणेशराज रिजाल र शरदचन्द्र भट्टराईको उम्मेदवारी परेको छ ।

मनोनयन दर्ता प्रक्रियामा समावेशीतर्फको केन्द्रीय सदस्य (मधेसी) पदका लागि उपेन्द्र यादव र रविन्द्र सिंहले उम्मेदवारी दिएका छन् । सिंह र रिजाल प्रेस युनियन बाराका पूर्वसभापति हुन् ।

यता भुगोलतर्फको केन्द्रीय सदस्य मधेस प्रदेश (महिला) पदका लागि उम्मेदवारी दिएकी अप्सरा पुडासैनी भने निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएका गौतमले पुडासैनी निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्