महिला सहकारीमा चोरी, सिसिटिभीको ‘हार्डडिक्स’ गायब


eShilalekh

१३ श्रावण २०७९, शुक्रबार २०:२७

सिमराः मनहर्वास्थित साना किसान कृषी सहकारी संस्थामा चोरी भएको घटना सेलाउन नपाउदै सिमरामा अर्को सहकारी संस्थामा चोरीको प्रयास भएको छ । महिलाको सक्रियतामा संचालन हुदै आएको सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा विहिवार राती चोरी भएको हो ।

जीतपुरसिमरा २ मा कार्यालय रहेको संस्थाको ताला फुटाउदै चोरले संस्थाबाट एक हजार नगद र सिसिटिभिको हार्डडिक्स चोरेको हो । संस्थाको दैनिक कारोबारको रकम बैंकमा जम्मा गरिएका कारण ठुलो रकम चोरी हुनबाट भने जोगिएको छ ।

संस्थाको मुल गेटसहित अन्य सबै कोठाको ताला काटेर भित्र प्रवेश गरेको चोरले कार्यालयमा रकम नभेटेपछि सिसिटिभिको भिडियो स्टोरेज हुने हार्डडिस्कनै चोरेर लगेको हो । संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीले एक हजार बराबराको खुद्रा रकम र सिसिटिभिको हार्डडिस्क चोरी भएको जानकारी दिईन् ।

‘हामीले दैनिक कारोवारको रकम बैंकमा पठाउछौं । संस्थामा राख्ने गरेका छैनौं’ अध्यक्ष अधिकारीले भनिन् ‘जसका कारण नगद चोरी हुनबाट जोगियो, हार्डडिक्स चोरी भएको छ । तर संस्थामा चोरीको प्रयास हुनु निकै दुःखद् विषय हो ।’

सिसिटिभी क्यामराको भिडियो रेकर्ड हुने हार्डडिक्सनै चोरेर लगेका कारण घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको अध्यक्ष अधिकारीको भनाई छ । घटनापछि प्रहरीलाई खबर गरिएको र प्रहरीले अनुसन्धान थालेको अध्यक्ष अधिकारीले ईशिलालेखलाई जानकारी दिईन् ।

यसअघि असार १९ गते मनहर्वास्थित साना किसान कृषी सहकारी संस्था लिमिटेडबाट करिब १३ लाख रुपैया चोरी भएको थियो । उक्त घटनामा संलग्न ब्यक्तिको अझै पहिचान हुन सकेको छैन् । पछिल्लो समय जीतपुरसिमरा उपमहानगरपालिकाभित्र चोरीको घटना बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्