मिर्गौला पीडितको निःशुल्क डायलासिस गराउन लायन्स क्लबको पहल, अपांगतालाई ह्विल चेयर हस्तान्तरण


eShilalekh

१४ श्रावण २०७९, शनिबार २१:१९

सिमराः लायन्स क्लबको डिष्ट्रिक्ट ३२५ एस अन्तर्गत एरिया ३ मा आवद्ध लायन्स तथा लियो क्लबका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम शनिवार वीरगन्जमा सम्पन्न भएको छ ।

वीरगन्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा एरिया ३ अन्तर्गत वर्ष २०२२/०२३ का लागि चयन भएका क्लबका अध्यक्षसहितका पदाधिकारीको सपथ ग्रहण सम्पन्न भएको हो । डिष्ट्रिक्ट गभर्नर अम्बरबहादुर श्रेष्ठले पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण गराउदै गभर्नर श्रेष्ठले सामाजिक सेवामा समर्पित लायन्स क्लबको उदेश्य पूरा गर्नका निम्ति नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए । समाजका विविध क्षेत्रमा काम गर्न सकिने बताउदै श्रेष्ठले समुन्नत समाज निर्माणको अभियानमा हातेमालो गर्दै अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा अघिल्लो वर्षका क्लब अध्यक्षले वार्षिक प्रतिवेदन र नवनिर्वाचित अध्यक्षले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रमकै अवसरमा लायन्स क्लबमा आवद्ध नवप्रवेशी सदस्यलाई गभर्नर श्रेष्ठले सपथ ग्रहण गराउदै स्वागत समेत गरेका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पिएमसीसी रमेशकुमार अग्रवाल, पूर्व डिष्ट्रिक्ट गभर्नर डा. आरपी खेतान, प्रथम डिष्ट्रिक्ट भाईस गभर्नर डिएन अग्रवाल, द्धितीय डिष्ट्रिक्ट भाईस गभर्नर टासी डोल्मा तुम्बाहाम्फे, डिष्ट्रिक्ट एडभाईजर बिनय बस्नेत, कोषाध्यक्ष दिपिन कृष्ण श्रेष्ठ, एरिया ३ प्रमुख रिकेश साह, एरिया २ प्रमुख बिकेशलाल श्रेष्ठ, पूर्व एरिया प्रमुख बासु तिमिल्सिनालगायत लायन्स क्लबको डिष्ट्रिक्ट, जोन, एरिया, क्लबका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो ।

यसैगरी मिर्गौलाका बिरामीलाई निशुल्क डायलसिस उपचारका लागि लायन्स क्लबको एरिया ३ ले वीरगन्जस्थित स्पर्स अस्पतालाई डायलसिस मेसिन उपलब्ध गराउने भएको छ । मेसिन उपलब्ध गराउनका लागि अस्पतालका प्रतिनिधि सन्तोष शर्मा र एरिया ३ प्रमुख साहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

डायलसिस मेसिन प्राप्त गरेपछि अस्पतालले मिर्गौलाका बिरामीलाई निशुल्क रुपमा डायलसिस गर्नेछ । साथै लायन्स क्लबमा आवद्ध सदस्यले अस्पतालबाट उपचारमा छुट समेत प्राप्त गर्ने भएका छन् । एरिया ३ प्रमुख साहले अस्पतालसंग मिर्गौलाका बिरामीको निशुल्क डायलसिस गर्ने र लायन्सका सदस्यलाई उपचारमा छुट दिने गरी अस्पतालसंग सम्झौता भएको जानकारी दिए ।

कार्यक्रममा वीरगन्जमा रहेका विभिन्न क्लबको तर्फबाट अपांगता भएका पाँच जना ब्यक्तिलाई ह्विल चेयर हस्तान्तरण गरिएको थियो । विभिन्न क्लबको सहयोगमा बारा र पर्साका अपांगता भएका ब्यक्तिलाई ह्विल चेयर हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब समर्पणका अध्यक्ष बिक्रम आलेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन कुटुम्बकी पूर्वअध्यक्ष बिजया ओझैयाले सहजीकरण गरेकी थिईन् । कार्यक्रमको समापन लायन्स क्लब सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले गरेकी थिईन् । कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्