कार्कीको सरुवालाई लिएर निजगढमा विवाद, नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी


eShilalekh

२४ श्रावण २०७९, मंगलवार ११:५२

सिमराः प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर निजगढ नगरपालिकामा गठबन्धन दलबाट निर्वाचित वडाध्यक्षसहित कार्यपालिका सदस्यले नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

पटकपटकको सरुवाका कारण विवादित बनेका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई हाजिर गराउनुपर्ने माग राख्दै वडाध्यक्षसहितका कार्यपालिका सदस्यले प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित भएका नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका वडाध्यक्ष र कार्यपालिका सदस्यले मन्त्रालयको सरुवा निर्णय उल्टाउदै थमौती पत्र लिएर आएका कार्कीलाई हाजिर गराउन दवाव दिदै आएका छन् । तर नगर प्रमुख पुरी भने कार्कीलाई हाजिर गराउन नसकिने अडानमा छन् ।

साउन ११ गते को मन्त्रालयको निर्णयअनुसार कार्की सरुवा भई अन्यत्र गएको र उनको स्थानमा हरिलाल पुरीले हाजिर गरिसकेको अवस्थामा उक्त निर्णय उल्टाएर पुनः फर्कन खोज्नु स्वभाविक नभएको प्रमुख पुरीको तर्क छ । पुरीले कार्की पटकपटक निजगढमै फर्कन खोज्नु र शान्त नगरपालिकालाई विवादमा धकेल्न प्रयास गर्नु जायज नभएको बताउदै आएका छन् ।
झण्डै दुई वर्षदेखी निजगढमा कार्यरत कार्कीलाई मन्त्रालयले पचरौता नगरपालिकामा नियमित सरुवा गरेको थियो । कार्कीको सरुवा भएसंगै मकवानपुरको थाहा नगरपालिकाबाट हरिलाल पुरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा साउन १३ गते निजगढ आएर हाजिर गरेका थिए । तर कार्कीले राजनीतिक दवाव दिदै पुरी हाजिर भएको दोस्रो दिन मन्त्रालयको निर्णय उल्टाएर पुनः प्रमुख प्रशासकीय अधिकृतकै रुपमा थमौती पत्र लिएपछि विवाद सुरु भएको हो ।

कार्कीलाई पुनः थमौती पत्र दिएको मन्त्रालयले पुरीलाई भने मन्त्रालय तानेको छ । मन्त्रालय पुगेर सरुवाको निर्णय उल्टाएका कार्की त्यसयता निजगढमा बसेर गठबन्धनबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यमार्फत नगर प्रमुख र उपप्रमुखलाई दवाव दिदै आएका छन् । गठबन्धनबाट निर्वाचित वडाध्यक्षसहितका कार्यपालिका सदस्यले कार्कीलाई हाजिर गराउन भन्दै साउन १७ गते नगर प्रमुखलाई ज्ञापन समेत बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्ने क्रममा नगर प्रमुख पुरीले पटकपटकको निर्णय उल्टाएर एउटै कार्यालयमा फर्कनु स्वभाविक नहुने र अर्को प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरिसकेको अवस्थामा कार्कीलाई पुनः हाजिर गराउन नसकिने जवाफ दिएका थिए । मन्त्रालयको अपरिपक्क निर्णयका कारण निजगढ नगरपालिकामा विवाद निम्तिएको भन्दै नगर प्रमुख पुरीले मन्त्रालयले आफ्नो निर्णय सच्याउनुपर्ने बताएका थिए ।

नगर प्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर प्रमुख र उपप्रमुखलाई भन्दा पनि अपरिपक्क निर्णय गर्ने मन्त्रालयलाई दवाव दिन वडाध्यक्ष र कार्यपालिका सदस्यलाई आग्रह गरेका थिए । तर वडाध्यक्ष र कार्यपालिका सदस्यले भने कार्कीलाई हाजिर गराउने विषयलाई प्राथमिकता दिदै आएका छन् ।

कार्कीले मन्त्रालयको निर्णय उल्टाएपछि विवाद सुरु भएको नगरपालिका त्यसयता प्रभावित बन्दै आएको छ । कार्कीको विषयलाई लिएर जनप्रतिनिधिबीच मतभेद र कर्मचारीबीच मनमुटावको स्थिती उत्पन्न भएको छ । यसअघि तीनपटक सम्म सरुवाको निर्णय रोकेर निजगढमा बस्दै आएका कार्कीले यो चौथो पटक निर्णय उल्टाएका हुन् । सरुवा हुने र केही दिनमै रोकिने गर्दा नगरपालिका यसअघि पनि विवादमा पर्दै आएको थियो ।

पटकपटक निर्णय उल्टाउने र फर्कने प्रवृतिको अन्त्य गर्नका लागि पनि आफूले हाजिर गर्न नदिएको नगर प्रमुख पुरीको भनाई छ । ‘कर्मचारीको सरुवा भनेको नियमित प्रक्रिया हो । एउटै कार्यालयमा बस्नुपर्छ भन्ने छैन्’ नगर प्रमुख पुरीले ईशिलालेखलाई भने ‘तर उहाँ (कार्की) पटकपटक सरुवा रोकेर बस्दै आउनुभयो । यसपटक मैले त्यसो हुन नदिएको मात्रै हो । हाजिर भईसकेको कर्मचारी फर्काएर उहाँनै आउनुपर्ने कारण के छ ?’ जनप्रतिनिधिबीच मतभेद खडा गरेर स्थानीय सरकार संचालन गर्न अग्रसर हुनु जायज नभएको पुरीको भनाई छ ।

निजगढ नगरपालिका १३ का वडाध्यक्ष सूर्य घलानले कार्कीलाई हाजिर गराएर नियमित कामकाज अघि बढाउन बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएपछि तालाबन्दी गरेको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नगर सभा र विकास निर्माणका काम प्रभावित भईरहेको घलानको भनाई छ ।

वडाध्यक्ष घलानको नेतृत्वमा बिसन सापकोटा, स्र्वण लामा, ज्ञानबहादुर गोले, सहाइया गुरो, रामचन्द्र काटवाल, मंगले लोप्चन, राजन श्रेष्ठ, मिना चौरेल, फुलमाया लामा, मैयाकुमारी सुनुवार, मनबहादुर डासेली, मनमाया तामाङ्ग, पवित्रा सुनुवारलगायतका जनप्रतिनिधि तालाबन्दी गर्न कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्