‘सडकमै ट्राफिक शिक्षा’


eShilalekh

८ भाद्र २०७९, बुधबार १०:२६

सिमराः सडक छेउमा मानिसको ठुलो भिड् । भिड्कै बीचमा ट्राफिक प्रहरी । झट्ट हेर्दा दुर्घटना झै लाग्ने तर वास्तविकता भने ठिक उल्टो । दिनँहुजसो जीतपुरको सडकमा देखिने उक्त दृश्यको उदेश्य भने दुर्घटना न्युनिकरणका लागि ‘सडक ट्राफिक शिक्षा’ अभियान ।

जीतपुरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक दीपक बस्नेत यस्तै रचनात्मक गतिविधिमा सक्रिय देखिन्छन् । ट्राफिक नियम विपरित सवारी चलाउने चालकलाई जरिवाना भन्दा पनि सडकमै ‘ट्राफिक शिक्षा’ दिन रुचाउछन् उनि ।

सवारी चालकलाई सडकमै भेला गर्दै बस्नेतले ट्राफिकका लागि भन्दा पनि दुर्घटना र मानविय क्षती न्युनिकरणका लागि नियमको पालना गरेर सवारी चलाउन दिनहुँ विभिन्न सवारीका चालकलाई अनुरोध गरिरहेको दृश्य देख्न सकिन्छ । जीतपुरस्थित रातो पुलनजिक मंगलवार प्रहरी सहायक निरिक्षक बस्नेतले ट्राफिक प्रहरीले जरिवाना काट्नै नपर्ने गरी जिम्मेवार भएर सवारी चलाउन चालकलाई अनुरोध गर्दै थिए ।

‘जरिवाना उठाउन हामीलाई रहर छैन्, सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना हुन्छ’ चालकको समुहलाई सम्झाउदै बस्नेतले भने ‘जरिवानाले दुर्घटना र मानविय क्षति कम हुदैन । तपाईहरु सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ ।’

ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा, मादक पदार्थ तथा लागुऔषध सेवन गरेर, हेल्मेट नलगाएर क्षमताभन्दा बढी यात्रु तथा सामान बोकेर सवारी नचलाउन, सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न पटकपटक अनुरोध गर्दा चालकहरु गम्भिर देखिन्थे । ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तिन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने बस्नेतको तर्क थियो ।

‘दुर्घटना कसैले गर्छु भनेर हुने होईन, लापरवाहीले हुने हो । त्यो लापरवाही चालकबाट नहोस् भन्ने मात्रै हाम्रो भनाई हो’ बस्नेतले सम्झाउदै भने ‘त्यसैको लागी तपाईहरुलाई केही समय भएपनि यसरी सचेत गराउने प्रयास गरिरहेको छु । यसलाई गम्भिर भएर सोचिदिनुहोला ।’

बस्नेतले यसरी चालकलाई सम्झाएको दृश्य हेर्न पैदलयात्री समेत भिड्मा मिसिन्थे । उनले सोही समयमा पैदल यात्रीलाई समेत सडक पार गर्दा जथाभावी बाटो नकाट्न र जेब्रा क्रसिङ प्रयोग गर्न सुझाउथे । पैदल यात्रीले जथाभावी बाटो काट्न खोज्दा बचाउने क्रममा सवारी साधन अनियन्त्रित हुने र दुर्घटना निम्तिन सक्नेतर्फ उनले पैदल यात्रीलाई समेत सचेत गराए ।

दिनहुँ जसो यसैगरी चालक र पैदल यात्रीलाई सम्झाउने बस्नेतले केही दिन अघि जीतपुरमा रिक्सा र अटो चालकलाई भेला गर्दै जथाभावी पार्किङ नगर्न अनुरोध गरेका थिए । रिक्सा र अटोका चालकलाई समुहमा राखेर उनले जथाभावी पार्किङ गर्दा, असुरक्षित स्थानमा यात्रुलाई चढाउने र ओराल्ने गर्दा हुने सम्भावित दुर्घटना र क्षतिको विषयमा चालकलाई जानकारी गराएका थिए ।

समुहमा राखेर सम्झाउदा एकैपटक धेरै जनालाई सम्झाउन सकिने र प्रभावकारी हुने उनको भनाई छ । जरिवाना काटेर र कारवाही गरेर भन्दा पनि सम्झाएर पठाउन सके दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उनको विश्वास छ । ‘पटकपटक गल्ती दोहोर्‍याउनेलाई जरिवानासहित अन्य कारवाही पनि गर्नुपर्छ’ बस्नेतले ईशिलालेखलाई प्रतिक्रिया दिदै भने ‘तर त्यसभन्दा अगाडी चालकलाई सम्झाउन सकिए त्यो बढी प्रभावकारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’

बस्नेतले यसअघि बाराको पचरौता नगरपालिकाको लंगडा चोकमा पनि यस्तै रचनात्मक गतिविधिलाई प्राथमिकता दिदै ग्रामिण भेगमा मोटरसाईकल चलाउदा हेल्मेटको प्रयोग अनिवार्य गराउन चालक सम्मान कार्यक्रम गरेका थिए । हेल्मेट लगाएर मोटरसाईकल चलाउने चालकलाई सम्मान गर्ने र अन्यलाई समेत प्रयोग गर्न प्रोस्ताहित गर्ने बस्नेतको कार्यशैलीको प्रहरीका उच्च अधिकारीले समेत प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्