बारामा हरितालिका तीज हर्षोल्लासका साथ मनाईयो (तस्विर)


eShilalekh

१५ भाद्र २०७९, बुधबार ००:०३

सिमराः हरितालिका तीज पर्व बारामा हर्षोल्लासका साथ मनाइएको छ । शिवपार्वतीको पूजा गरेर मनाइने तीजका दिन जिल्लाका शिवालयमा व्रतालुको भिड् लागेको थियो ।

तीजका दिन शिवालयमा पूजा गरेर व्रतालु महिलाले नाँचगान गरेर यो पर्वलाई हर्षका साथ मनाउने गरेका छन् । तीज पर्वको अवसरमा सरकारले महिलालाई सार्वजनिक विदा समेत दिएको थियो ।

आजको दिन व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको र आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

तीजको अवसरमा पारेर विभिन्न संघसंस्थाले तीज विशेष कार्यक्रमको समेत आयोजना गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ रजघट्टामा जन सेवा क्लबले तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय र स्थानीय कलाकारको सांगीतिक रहेको थियो ।

तृतीयाका दिन व्रत बसेर शिवालयमा पूजा गर्दै सुरु हुने पर्व चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको समापन हुनेछ ।

तराईमा चौरचन पूजा सम्पन्न

मिथिला परम्पराअनुसार मंगलवार तराईमा चौरचन पूजा सम्पन्न भएको छ । भदौ शुक्ल चतुर्थीका दिन चौरचन पूजा गर्ने गरिन्छ । चौरचनमा चन्द्रमाको पूजा गर्ने गरिएको छ ।

सुर्यास्तपछि गाईको गोबरले लिपेर आँगनको माझमा बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमुली व्रतालुले फलफूल, मिठान्न परिकार चन्द्रमालाई देखाएर व्रत समापन गर्ने परम्परा रहेको छ ।

यस पूजामा घरमुली महिला व्रत बस्ने र पूजा गर्ने प्रचलन छ । तराईमा चौरचन पूजालाई महत्वका साथ लिने गरिएको छ । एकैदिन परेको हरितालिका तीज र चौरचन पूजालाई बारामा उत्साहका साथ मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्