निर्णयको आठ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय…


eShilalekh

१५ भाद्र २०७९, बुधबार २१:२५

सिमराः मालपोत र नापी कार्यालयको सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णय कार्यान्यवन हुन आठ वर्ष लागेको छ । कलैयाबाट प्रदान गरिने सेवा विस्तार गर्दै सिम्रौनगढमा कार्यालय थप गर्ने सरकारी निर्णय कार्यान्यवनमा आउन आठ वर्ष लागेको हो ।

सरकारले २०७१ साल असोज ३० गते कलैयास्थित जिल्ला मालपोत र नापी कार्यालयको सेवा केन्द्र सिमरा र सिम्रौनगढमा थप गर्ने निर्णय गरेको थियो । तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला नेतृत्वको सरकारले गरेको उक्त निर्णयअनुसार सिमरामा चार वर्षपछि मालपोत कार्यालय स्थापना भएपनि सिम्रौनगढमा भने हुन सकेको थिएन् ।

उक्त निर्णय भएको करिब आठ वर्षपछि बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले कार्यालयको उद्घाटन गरेकी हुन् । कार्यालय उद्घाटन भएपनि जिल्लास्थित मालपोत कार्यालयबाट जग्गाको श्रेस्ता भने सिम्रौनगढ लगिएको छैन् । कार्यालय उद्घाटनसंगै अब श्रेस्तासहित कागजात लगेर कार्य थालनी गरिने तयारी रहेको बताइएको छ । सिम्रौनगढ सेवा कार्यालयका लागि कौशलकिशोर झालाई प्रमुख तोकिएको छ ।

सिम्रौनगढमा स्थापित उक्त कार्यालयबाट सिम्रौनगढ, पचरौता, आदर्शकोतवालको सबै वडा र महागढीमाई, देवताल, बारागढीको एक-एक वडाका नागरिकले सेवा लिन सक्नेछन् । सेवा केन्द्र विस्तार हुन नसक्दा उक्त क्षेत्रका नागरिक कलैया आएर सेवा लिनुपर्ने बाध्यतामा थिए ।

कलैयास्थित कार्यालयबाट जिल्लाभरीको सेवा प्रदान गर्न असहज र झन्झटिलो रहेको भन्दै जिल्लाको उत्तरी र दक्षिणी भेगमा सेवा केन्द्र विस्तार सरकारी निर्णयविरुद्ध कलैयामा आन्दोलन समेत भएको थियो । जिल्ला समन्वय समितिको नेतृत्वमा सुरु भएको उक्त आन्दोलन अन्तिममा कलैया बचाउ संघर्ष समितिले नेतृत्व गरेको थियो ।

कलैयामा भएको आन्दोलनका कारण सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय स्थगन गरेको थियो । यता सेवा केन्द्र बिस्तार गर्ने आफ्नै निर्णय सरकारले फिर्ता लिएपछि सिमरामा भने अर्को आन्दोलन सुरु हुन पुग्यो । सेवा केन्द्र स्थापना स्थापना हुनुपर्ने भन्दै सिमरामा भएको आन्दोलन हिंसात्मक बन्न पुगेपछि सरकारले २०७१ फागुनमा स्थगनको निर्णयबाट पछि हटेको थियो ।

स्थगनको निर्णय सच्याएपनि सेवा केन्द्र विस्तारको निर्णय अन्यौलमा परेपछि सरकारले २०७५ साल जेठ २० गते सेवा सुचारु गर्न सम्बन्धित कार्यालयलाई पुनः निर्देशन समेत दियो । सरकारको निर्देशन बमोजिम सेवा सिमरामा कार्यालय स्थापना हुन भने चार वर्ष लाग्यो । जीतपुरसिमरा ३ स्थित बजनीमा भवन भाडामा लिएर जिल्लास्थित मालपोत कार्यालयबाट २०७५ साल साउन ३१ गते श्रेस्ता ल्याइएको थियो । श्रेस्ता ल्याएर सिमरामा मालपोत र नापीको सेवा सुचारु गरेको चार वर्ष वितिसक्दा पनि सिम्रौनगढमा भने कार्यालय स्थापना समेत हुन सकेको थिएन् ।

सरकारी निर्णय अनुसार सिम्रौनगढमा नापी कार्यालय सोही समय स्थापना गरिएको थियो । मासिक ३२ हजारसम्म घर भाडा तिरेर नापी कार्यालय सिम्रौनगढमा राखिएको भएपनि मालपोत कार्यालय स्थापना गर्न नसक्दा उक्त कार्यालयले सेवा दिन सकेको थिएन् । मालपोत कार्यालय विस्तार नभएका कारण तीन वर्षपछि नापी कार्यालय पुनः कलैया फर्काइएको थियो ।

आठ वर्षपछि मालपोत कार्यालय र नापी कार्यालय दुवै स्थापना गरेर उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन भएपछि यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, सिम्रौनगढका नगर प्रमुख किशोरीप्रसाद साह देवताल गाँउपालिकाका अध्यक्ष उदयप्रसाद यादव, आदर्शकोतवाल गाँउपालिकाका अध्यक्ष जवाहरप्रसाद साह कानुलगायत सेवा प्राप्त गर्ने स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्