जीतपुरको लेनदेन विवाद चुलिएपछि दुवै पक्षले गरे निष्पक्ष छानविनको माग


eShilalekh

२३ भाद्र २०७९, बिहीबार ११:३५

सिमराः पछिल्लो समय मिटर ब्याजीविरुद्धको कारवाही प्रक्रियालाई कडाई गरिरहेको जिल्ला प्रहरी कार्यालय बारासंग निष्पक्ष अनुसन्धानको माग गर्दै जीतपुरका व्यवसायी कन्हैया गुप्ताले पत्रकार सम्मलेनको आयोजना गरेका छन् ।

मिटर ब्याजमा ऋण दिएको आरोपमा उजुरी परेपछि अनुसन्धान थालेको प्रहरीले प्रमाण हेरेर मात्रै कारवाही प्रक्रिया अघि बढाउनुपर्ने भन्दै गुप्ताले पत्रकार सम्मेलनको आयोजना गरी निष्पक्ष छानविनको माग गरेका हुन् ।

मिटर ब्याजीविरुद्ध प्रहरीले जिल्लामा थालेको कारवाही प्रक्रिया प्रशंसनीय रहेको बताउदै गुप्ताले उजुरीलाई आधार मान्ने भन्दा पनि प्रमाणलाई आधार मानेर अघि बढ्न प्रहरीलाई सुझाव दिएका छन् । जीतपुरका स्थानीय सोहनकुमार पिप्लेले आफ्नो भाई गोपालविरुद्ध मिटर ब्याजीको आरोप लगाउदै दिएको उजुरीका कारण पीडित हुनुपरेको गुप्ताको भनाई छ ।

भाई गोपाल उपचारका क्रममा भारतमा रहेका कारण पत्रकार सम्मेलनमा आफू आएको बताउदै गुप्ताले प्रहरी कार्यालयमा दिइएको उक्त उजुरीमा कुनै सत्यता नरहेकाले प्रमाणका आधारमा छानविन गर्न र आफूहरुलाई न्याय दिलाउन माग गरे ।

गुप्ताका अनुसार उनका भाई गोपालले पिप्लेलाई ९ वर्षअघि ६ लाख ऋण दिएका थिए । गोपाल आधिकारिक बिक्रेता भएर जीतपुर चोकमा मदिराको कारोवार गर्छन् । पिप्लेलाई तमसुक गराएर गोपालले ६ लाख ऋण उपलब्ध गराएको गुप्ताको भनाई छ ।

सोहनकुमार पिप्ले

गोपालसंग ऋण लिएका पिप्लेले उनकै मदिरा पसलबाट २०७६ सालमा चार लाख १९ हजार मूल्य बराबरको मदिरा समेत उधारो खरिद गरेको गुप्ताले पत्रकार सम्मेलनमा बताए । सिमरामा होटल व्यवसाय संचालन गरेका पिप्लेले विभिन्न मितिमा मदिरा लगेको र उक्त रकम समेत बाँकी रहेको गुप्ताद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

ऋण लिएको लामो समयसम्म पिप्लेले रकम फिर्ता नगरेपछि पटकपटक रकम माग गरिएको र लकडाउनको समयमा पिप्लेको होटल व्यवसाय समेत बन्द भएपछि रकम दिन आनाकानी गरेको गुप्ताको दाबी छ । पिप्लेले रकम दिन ढिलाई गरेको भन्दै गुप्ता परिवारले ईलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए ।

उक्त उजुरीका आधारमा बैशाख १५ गते भएको छलफलमा पिप्लेले रकम उलपब्ध गराउने मौखिक सहमती गरेको गुप्ताले बताए । रकम फिर्ता गर्ने सहमती गरेपनि पिप्लेले जेठमा दुई लाख २५ हजार रुपैया मात्रै फिर्ता गरेको र अन्य रकम अझै बाँकी रहेको गुप्ताले बताएका छन् ।

गुप्ताका अनुसार पिप्लेले लिएको रकमको कानुन बमोजिम ब्याज जोड्दा नौ वर्षमा १७ लाख बाँकी देखिएको र त्यसमध्ये दुई लाख २५ हजारमात्रै फिर्ता भएको छ । ईलाका प्रहरी कार्यालयमा भएको छलफलपछि भदौमा रकम फिर्ता गर्ने सहमती जनाएका पिप्लेले मिटर ब्याजीका कारण आफू पीडित हुनुपरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उक्त उजुरीका आधारमा प्रहरीले छानविन थालेको हो । प्रहरीमा उजुरी दिएका पिप्लेले २०७० सालमा आफूले गोपालसंग ६ लाख नभई सात लाखको तमसुक गरेको र २०७३ सालमा ज्योती विकास बैंकमार्फत पाँच लाख रुपैया फिर्ता गरेको बताएका छन् । आफूले तीन लाख लिएको र उक्त रकमभन्दा बढाएर तमसुक गरेका कारण पाँच लाख फिर्ता गरेर सहमतीमै बक्यौता चुक्ता गरेको पिप्लेले बताए । बैंकमार्फत पाँच लाख दिएपनि गोपालसंग तमसुक फिर्ता नलिनु आफ्नो भुल भएको पिप्लेको भनाई छ ।

पिप्लेका अनुसार २०७५ सालमा उनले एभरेष्ट बैंकको सादा चेक दिएर गोपालसंग साढे चार लाख रुपैया लिएका थिए । उक्त रकमको मासिक ३३ हजार पाँच सय ब्याज बुझाउदै आएका थिए । पिप्लेका अनुसार बैशाखसम्म उनले ब्याजवापतको रकम बुझाएका छन् ।

गोपालले बैशाखमा उक्त सादा चेकमा आठ लाख रकम भरेर बाउन्स गराउदै प्रहरीमा उजुरी दिएपछि स्थानीय निर्वाचनको समयमा दुई पटक गरी तीन लाख फिर्ता गरेको पिप्लेको भनाई छ । गोपालले संचालन गरेको मदिरा पसलको नाममा मेगा बैंकमा रहेको खातामार्फत आफूले तीन लाख फिर्ता गरेको पिप्लेले बताए ।

उक्त रकम फिर्ता गरेपनि गोपालले साढे चार लाखको ब्याज जोडेर आफूसंग जेठमा नविल बैंकको सात लाखको चेक लिएको पिप्लेको भनाई छ । २०७५ सालदेखी बैशाखसम्म मासिक ३३ हजार पाँच सयको दरले ब्याज तिर्दै आएको र जेठसम्ममा तीन लाख फिर्ता गरेको रकम घटाएर चेक लिनुपर्ने भएपनि गोपालले आफूसंग भदौसम्मको ब्याज जोडेर सात लाखको अर्को चेक लिएपछि आफू पीडित भएको पिप्लेले बताए ।

‘२०७५ सालमा लिएको साढे चार लाखको ब्याज बैशाखसम्म दिएको छु । बैशाख र जेठमा तीन लाख फिर्ता गरेको छु । तीन लाख तिरेपछि डेढ लाख बाँकी देखिनुपर्ने हो’ पिप्लेले भने ‘तर जेठदेखी भदौसम्म बाँकी रकमको सावाब्याज गरेर थप सात लाख देखाउदै चेक लिएपछि पीडित हुन पुगे ।’

उनले गोपालको मदिरा पसलबाट आफूले कुनै कारोवार नगरेको बताएका छन् । मदिरा पसलबाट चार लाख १९ हजारको मदिरा खरिद गरेको भन्दै गुप्ताले पत्रकार सम्मेलनमा कर बिजक देखाएपनि पिप्लेले भने आफ्नो कारोवार नभएको बताए । मिटर ब्याजका कारण आफू पीडित हुनु परेको र मिटरब्याजीविरुद्धको अभियानमा आफू अग्रसर भएपछि गुप्ता परिवारले आफूलाई दबाउन खोजेको आरोप लगाउदै पिप्लेले निष्पक्ष छानविनमा आफूले सहयोग गर्ने बताएका छन् ।

आफूलाई रकम फिर्ता नगरेको आरोप लगाएपनि पैसा फिर्ता गरेको प्रमाण दिन सक्ने भन्दै पिप्लेले कारोवार गरेको ब्यक्ति गोपालसंग बसेर लेनदेनको विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

तर गुप्ताले भने पिप्लेले पैसा फिर्ता गरेको प्रमाण देखाउन माग गरेका छन् । पिप्लेले रकम फिर्ता गरेको प्रमाण देखाए आफूले कुनै रकममा दाबी नगर्ने भन्दै गुप्ताले मौखिक भनाईलाई आधार नमान्न प्रहरीसंग माग गरे । प्रहरीले सत्यता र प्रमाण हेरेर अघि बढेमा आफूहरुलाई न्याय मिल्ने गुप्ताको भनाई छ ।

यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने मिटर ब्याजीको आरोपमा गोपालविरुद्ध उजुरी परेपछि अनुसन्धानलाई अघि बढाएको बताएका छन् । दुई पक्षबीचको लेनदेनका विषयमा छलफल गरेर कानुनसम्मत ढंगले अघि बढाउन खोज्दा प्रहरीमाथी निष्पक्ष छानविन नगरेको भन्दै लगाएको आरोपको विषयमा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

‘मिटर ब्याजीको आरोपमा उजुरी परेपछी हामीले कानुन अनुसार काम गर्न खोजेका छौं । तर उहाले (गुप्ता) विभिन्न शक्ति प्रयोग गरेर प्रहरीलाई दवाउन खोजेको जस्तो देखियो’ प्रहरी उपरीक्षक बोगटीले भने ‘तर प्रहरीले आफ्नो काम रोक्दैन् । मिटर ब्याजी भएको प्रमाणित भए कारवाही हुन्छ, त्यस्तो नभए आपसी सहमतीमा विवाद समाधान गराएर पठाउछौं ।’

प्रहरीले निष्पक्ष छानविन नगरेको भन्ने आरोपमा प्रहरी उपरीक्षक बोगटीले पत्रकार सम्मेलन गरेर अनावश्यक भ्रम फैलाउने भन्दा पनि सम्बन्धित व्यक्तिलाई उपस्थिती गराएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । थोरै रकम दिएर धेरै रकमको कागज बनाउने र मिटर ब्याजमा पैसा लगाउने कसैलाई पनि प्रहरीले नछाड्ने भन्दै प्रहरी उपरीक्षक बोगटीले कार्यालयमा आउने उजुरीमाथीको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्