म्यादी प्रहरीमा भर्ना खुल्यो, जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने


eShilalekh

२६ भाद्र २०७९, आईतवार १९:२४

सिमराः मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खुल्ला गरेको छ ।

निर्वाचनको सुरक्षा प्रयोजनार्थ प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीका लागि दरखास्त खुल्ला गरेको हो । म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखी असोज ६ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचना अनुसार म्यादी प्रहरी भएर निर्वाचनमा खटिन इच्छुक नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालयले काठमाण्डौ, भक्तपुर, ललितपुरमा जिल्ला प्रहरी परिसर र उपत्यका बाहिर सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने जनाएको छ ।

आसन्न निर्वाचनका लागि देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी माग गरिएको छ । म्यादी प्रहरीका लागि छनौट भएकाको अवधी ४० दिनको हुनेछ भने सो वापत ३४ हजार सात सय ६० र खाद्यान्नवापत सात हजार दुई सय प्राप्त गर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्