आलम परिवारको आक्रोशः ‘पहिला खुसी खोसियो, अहिले न्याय खोसियो’


eShilalekh

५ आश्विन २०७९, बुधबार ०९:४६

सिमराः नेकपा एमालेका महमुद आलमको हत्या अभियोगमा आजिवन कारावास सजाय भोगिरहेका रामचन्द्र प्यासी जेलमुक्त भएपछि पीडित परिवार आक्रोशित बनेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेसंगै प्यासी सोमबार जेलमुक्त भएका हुन् ।

हत्याको मुख्य योजनाकारको रुपमा रहेका प्यासी जेलमुक्त भएपछि आलमका परिवार र स्थानीय भने आक्रोशित बनेका छन् । न्यायलयबाट प्राप्त न्याय खोसेर सरकारले पीडितलाई थप पीडा दिएको परिवारको भनाई छ ।

प्यासीलाई जेलमुक्त गराएकोमा असन्तुष्टी जनाउदै आलमका परिवार र स्थानीयले मंगलवार विरोध प्रदर्शन गरेका छन् । परवानीपुरमा आयोजित विरोध प्रर्दशनमा परिवार र स्थानीयले पीडकलाई संरक्षण गरेर पीडितको न्याय खोजिएको भन्दै आक्रोश पोखेका थिए ।

‘पहिला हाम्रो परिवारको खुशी खोसियो । अहिले हामीले पाएको न्याय खोसियो’ आलम परिवारका एक सदस्यले भने ‘अपराधीलाई मुक्त गरेर सरकारले पीडितको न्याय खोसेको छ ।’

नेकपा एमालेको मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलमको २०७० साल असोज १८ गते हत्या हत्या भएको थियो । बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको २४ घण्टा नवित्दै आलममाथी परवानीपुरमा गोली प्रहार भएको थियो ।

चुनावी अभियानमा हिडिरहेका बेला आलमलाई मोटरसाईकलमा आएका ब्यक्तिले आलमलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाईते आलमको असोज २४ गते उपचारका क्रममा काण्ठमाण्डौंमा निधन भएको थियो ।

आलमको निधन भएपछि एमालेले उनकी पत्नी नेजमा आलमलाई टिएको दिएको थियो । नेजमा उक्त निर्वाचनमा निर्वाचित भएकी थिईन् ।

आलम हत्याका मुख्य योजनाकार प्यासी थिए । नेकपा एमालेबाटै २०६४ संविधान सभा निर्वाचनपछि समानुपातिक सभासद रहेका प्यासीले २०७० सालको निर्वाचनमा टिकट नपाएपछि आलमको हत्या योजना बुनेका हुन् । एमालेले आलमलाई टिकट दिएपछि प्यासीले उम्मेदवारी दर्ताको गराएको भोलीपल्टै मतियार प्रयोग गरेर आलममाथी गोली प्रहार गर्न लगाएका थिए ।

आलमको हत्यालगत्तै अनुसन्धान थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्यासीलाई २०७० कार्तिक ९ सिमराबाट पक्राउ गरेको थियो । उनकै योजनामा अन्य मनोज पाण्डे, विपिन यादव, अतिक खान र राजु श्रीवास्तव भन्ने व्यक्तिले आलममाथी गोली प्रहार गरेका हुन् । प्यासी जेलमुक्त भएपनि अन्य भने सजाय भुक्तान गरिरहेका छन् ।

उच्च अदालतले प्यासी र मोटरसाईकल चालक पाण्डेलाई आजिवन कारावास र अन्यलाई १० वर्षको कैद फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्