श्रीमतीको हत्या अभियोगमा एसबीआई बैंकका शाखा प्रवन्धक पक्राउ


eShilalekh

७ आश्विन २०७९, शुक्रबार २०:२६

सिमराः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा बारा प्रहरीले एसबीआई बैंकको वीरगन्जस्थित श्रीपुर शाखाका प्रवन्धकलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका १ का दीपेन्द्रप्रसाद जैसवारलाई आफ्नै पत्नीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दाईजोमा कार नदिएको भन्दै लामो समयदेखी यातना दिदै आएका जैसवारले परिवारको सहयोगमा पिंकीलाई कुटपिट गरेको र उपचारका क्रममा उनको ज्यान गएको निष्कर्षसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जैसवारले भदौ १८ गते मोतिबाघस्थित घरमा पिंकीमाथी सामुहिक कुटपिट गरेका थिए ।

पिंकीलाई उनका पति दीपेन्द्रसहित ससुरा मुरारी जैसवार, सासु मन्तुरादेवी र काका ससुरा जगतप्रसाद जैसवारले कुटपिट गरेका हुन् । प्रहरीले दीपेन्द्रलाई पक्राउ गरेपनि परिवारका अन्य सदस्यलाई भने नियन्त्रणमा लिएको छैन् ।

पिंकीलाई परिवारका सबै सदस्य मिलेर कुटपिट गरेको जाहेरी प्रहरीमाथी परेको छ । कुटपिटबाट गम्भिर घाईते भएकी उनलाई वीरगन्जस्थित एक क्लिनिकमा सामान्य उपचार गराएर घर लगिएको थियो । टाउको गम्भिर चोट लागेका कारण घरमा पिंकीको स्वास्थ्य बिग्रदै गएपछि दीपेन्द्रका परिवारले भदौ २७ गते वीरगन्जस्थित एडभान्स अस्पताल लगेका थिए ।

एडभान्समा उपचार सम्भव नभएपछि चिकित्सकले चितवन पठाएका थिए । चितवनबाट पनि रिफर गरिएपछि पिंकीलाई काठमाण्डौस्थित मेडिसिटी अस्पताल लगिएको थियो । मेडिसिटीमा उपचार गराईरहेकी पिंकीको असोज २ गते अस्पतालको शैयामै मृत्यु भएको हो ।

पिंकीको मृत्युपछि उनको माईती पक्षले योजनावद्ध ढंगले हत्या भएको भन्दै दीपेन्द्रको परिवारमाथी कारवाहीको माग गर्दै आएका थिए । परिवारको जाहेरीपछि प्रहरीले दीपेन्द्रलाई पक्राउ गरेको हो । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले गम्भिर प्रकृतिको घटना रहेकाले दोषीलाई कडा कारवाही गरिने बताए ।

पिंकीका भाई मनिषका अनुसार भरतपुर महानगरपालिका १ घर भएकी पिंकीको २०६७ मंसिर १४ गते विवाह भएको थियो । विवाहको समयमा दीपेन्द्रले पिंकीको परिवारसंग ४० लाख नगद र १० किलो सुन लिएका थिए ।

ठुलो रकम दाईजो वापत लिएका दीपेन्द्रले त्यसयता पिंकीलाई यातना दिदै आएको माईती पक्षको भनाई छ । पिंकीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएपछि उनीमाथी यातना बढ्दै गएको थियो । दीपेन्द्रले पिंकीलाई कार दिलाउनका लागि दवाव दिदै आएका थिए । तर पिंकीले कार दिन सक्ने अवस्था माईतीको नरहेको भन्दै अस्विकार गर्दै आएकी थिईन् ।

लामो समयदेखि दवाव सहदै आएकी पिंकीले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिईन् । उनको छोरी १० वर्षीया र छोरा सात वर्षीय छन् । दाईजोको विषयलाई लिएर लगातार पीडा खेप्दै आएकी पिंकीले २०७५ सालमा मंसिर ४ मा घरेलु हिंसा भएको भन्दै जाहेरी समेत दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्