अन्ततः टांगियाबस्तीमा पुग्यो बिजुली, स्थानीय उत्साहित


eShilalekh

९ आश्विन २०७९, आईतवार १२:१७

सिमराः दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण लामो समयदेखि अन्धकारमा रहेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित टांगियाबस्तीमा शनिवार साँझ बिजुली पुगेको छ । विमानस्थल निर्माण योजनाका कारण सरकारी सेवा सुविधाबाट बञ्चित रहदै आएको टांगियाबस्तीमा बिजुली पुगेको हो ।

विधुत अभावमा लामो समयदेखी टुकी र सोलारको सहारा लिदै आएका बस्तीका स्थानीय गाँउमा बिजुली पुगेपछि हर्षित भएका छन् । चाडपर्वको समयमा गाँउमा बत्ती पुग्दा स्थानियमा उत्साह थपिएको छ ।

सरकारले सुरु गरेको वन संरक्षण कार्यक्रम २०४६ सालमा स्थगित भएपछि वन हेरालुका रुपमा रहेका नागरिक त्यसयता टांगियाबस्तीमा बसोबास गर्दै आएका थिए । उजाड क्षेत्रमा वृक्षरोपण गर्ने र पहाडको खेती तराईमा लगाउने कार्यक्रम अन्तर्गत सरकारले २०३२ सालमा काभ्रेसहित विभिन्न जिल्लाबाट नागरिकलाई वन हेरालुका रुपमा बारा ल्याएको थियो ।

उक्त कार्यक्रम २०४६ सालमा बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले स्थगित गरेपछि अलपत्र परेका नागरिक सरकारकै आग्रहमा टांगियामा बसोबास गर्न थालेका हुन् । करिब डेढ सय घरपरिवारबाट सुरु भएको टांगियाको बस्ती अहिले करिब दुई हजार पुगिसकेको छ ।

सरकारकै अनुरोधमा अस्थायी बसोबास गर्दै आएका टांगियाबासी त्यसयता भने सरकारी सुविधाबाट बञ्चित रहदै आएका छन् । वन क्षेत्रभत्रको अव्यवस्थित बसोबास र विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण टांगियाबस्तीलाई सरकारले प्राथमिकतामा राखेको छैन् ।

तर सरकारी योजनाकै कारण नागरिकले प्राप्त गर्ने सेवासुविधाबाट बञ्चित राख्न नहुने भन्दै टांगियाबासी आन्दोलित हुदै आएका छन् । राज्यले आफूहरुको उचित व्यवस्थापन गरेर अन्यत्र स्थानान्तरण पनि नगर्ने र न्युनतम सेवा सुविधा पनि नदिदा पीडित हुनुपरेको टांगियाबासीको भनाई छ ।

टांगियाबासीको आन्दोलन र पटकपटकको आग्रहपछि नेपाल विधुत प्राधिकरणले झण्डै अढाई करोडको लगानीमा विधुतीकरण गरेको हो । उज्यालो टांगिया अभियान अन्तर्गत गाँउमा पुगेको बिजुलीको बारा क्षेत्र नं. ३ का निवर्तमान सांसद रामबाबु यादव, जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, वडाध्यक्ष हरिदेव खरेलले उद्घाटन गरेका हुन् ।

बिजुली उद्घाटन गर्दै निवर्तमान सांसद यादवले विमानस्थल निर्माण गर्ने सरकारी योजनामा अवरोध नपुग्ने गरी टांगियाबस्तीमा बिजुली ल्याइएको बताए । तत्काललाई विधुत सुविधा उपलब्ध गराउने र सरकारले चाहेको खण्डमा विमानस्थलका लागि टांगियाबासी अन्यत्र स्थानान्तरण हुने गरी विधुतीकरण गरिएको यादवको भनाई थियो ।

टांगियाबस्तीमा विधुतीकरण गरिएकोप्रति सिमरास्थित डभिजन वन कार्यालय असन्तुष्ट रहदै आएको छ । वन क्षेत्रभित्र विधुतीकरण गर्न नमिल्ने वन कार्यालयको तर्क छ । तर निवर्तमान सांसद यादवले भने लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई सुविधा दिनका लागि विधुतीकरणको योजना अगाडी बढेको बताए ।

‘विमानस्थलको योजनाकै कारण अन्धकारमा बस्नुपर्छ भन्ने छैन् । विमानस्थल बन्ने भएपछि बस्तीलाई अन्यत्र लैजान सकिन्छ’ यादवले भने ‘त्यसैले गाँउमा बत्ती बालिएको छ । अब यहाँका अब्यवस्थित बसोबासको समस्या समाधान गर्न जरुरी छ ।’

कार्यक्रममा जीतपुरसिमराका नगर प्रमुख पौडेलले उपमहानगरपालिकाभित्र पिछडिएको बस्तीका रुपमा रहेको टांगियाबस्तीको अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने कार्य भईरहेको बताए । यसैगरी उपप्रमुख अधिकारीले टांगियाबस्तीलाई उपमहानगरपालिकाको नागरिक भएको अनुभूति हुने गरी काम हुने बताएका छन् ।

उक्त कार्यक्रममा करैयामाई गाँउपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, नेपाल विद्यतु प्राधिकण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, निवर्तमान वडाध्यक्ष केदारनाथ बजगाईं, टांगियाबस्तीका अगुवा रमेश सापकोटालगायत सहभागी थिए ।

यसरी भएको छ टांगियाबस्तीमा विधुतीकरणः

टांगियामा विधुतीकरणका लागि नेपाल विद्यतु प्राधिकरणले दुई करोड ३४ लाख रकम खर्चिएको छ । प्राधिकरणले ११ केभीको लाईन करिब सात किमि र एलटी लाईन करिब २० किलोमिटर विस्तार गर्दै विधुतीकरण गरेको हो ।

रुख कटान गर्न नपर्ने गरी विधुतीकरण गर्दा प्राधिकरणले वन क्षेत्रमा इन्सुलेटेड कभर्ड कन्डक्टरको प्रयोग गरेको छ । प्राधिकरणले उक्त क्षेत्रमा ११ मिटरको बिजुली पोल एक सय ६१ थान र चार सय १३ थान ८/९ मिटरको पोलबाट विधुतीकरण गरेको हो । उक्त कार्यका लागि १०० केभिएको चार वटा ट्रान्सफर्मर प्रयोग भएको छ ।

चैत्र महिनामा विधुतीकरणको काम सुरु गरेको प्राधिकरणले भदौमा सम्पन्न गरेको हो । विधुतीकरण भएपछि एक हजार चार सय ७६ घरधुरी रहेको टांगियाबस्तीमा हालसम्म चार सय ५० घरमा मिटर जडान भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्