बीमा रकम नपाएपछि सडकमा उत्रिए निजगढका किसान


eShilalekh

१२ आश्विन २०७९, बुधबार ०९:४०

निजगढः केरा खेती नष्ट भएको बर्षौ दिन वितिसक्दा पनि बीमा बापतको रकम नपाएपछि बारा निजगढका किसान यतिबेला सडक संघर्षमा उत्रिएका छन् । पटकपटक माग गर्दा पनि बीमा कम्पनीले रकम उपलब्ध नगरेपछि किसान सडकमा उत्रिएका हुन् ।

गत बैशाख १६ गते आएको बर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाह भन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो । स्थानीय किसानका अनुसार उक्त दिन पाँच करोड भन्दा बढी रकम बराबरको क्षती भएको छ ।

हिमालयन इन्स्योरेन्स कम्पनीबाट खेतीको बीमा गरेका किसानले हालसम्म बीमा बापतको रकम प्राप्त गर्न सकेका छैनन् । कृषीमा लगाइएको लगानी सुरक्षित गर्न बीमा गरेका किसान बीमा कम्पनीबाट पीडित बन्न पुगेका छन् ।

बारा केरा उत्पादक तथा फलफूल व्यवसायी संघमा आवद्ध किसानले दुई दिन भित्र रकम उलपब्ध नगराए चरणबद्धरुपमा आन्दोलन गर्दै जाने चेतावनी समेत दिएका छन् । दसैंको मुखमा सडकमा उत्रनुपर्ने बाध्यता बुझिदिन आग्रह गर्दै किसानले तत्काल रकम उलपब्ध गराउन माग गरेका छन् ।

बीमा कम्पनीले किसानलाई प्रति कठ्ठा १५ हजारका दरले एक सय २० बिगाहको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने किसानको भनाई छ । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक हजार दुई बिगाहमा केरा खेती हुने गरेको छ । उक्त खेती मध्ये एक सय २० बिगाहको बाली नष्ट भएको हो ।

बीमा रकम प्राप्तीका लागि किसानको टोलीले यसअघि काठमाण्डौसम्म पुगेर बीमा कम्पनी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । तर आफूहरुको माग सम्बोधन गर्न चासो नदेखाएको किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्