छठ पर्वको दोस्रो दिन आज खरना विधि गरि मनाइँदै


eShilalekh

१२ कार्तिक २०७९, शनिबार ०९:१४

सिमरा : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ ।सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी सूर्य भगवान एवम् दिनानाथको पूजा गरी निष्ठापूवर्क मनाइने छठको दोस्रो दिन खरना विधि सम्पन्न गरिनेछ ।

खरनाका दिन व्रतालुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ।

छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको थियो । कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।

त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार व्रत बस्छन् ।
चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई साझ अरग र अन्तिम दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई भोर अरग भनिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्