आज छठ पूजाको मुख्य दिन, अस्ताउदो सुर्य अर्घ दिएर मनाईदै


eShilalekh

१३ कार्तिक २०७९, आईतवार १३:४३

सिमराः आज छठ पुजाको मुख्य दिन, अस्ताउदो सुर्यलाई अर्घ दिएर मनाईदै छ । आजको दिनलाइ सझियाघाट भनिन्छ । नजिकका जलासयमा बनाइएको छठघाटमा पुगेर व्रतालुले सुर्यको उपासना गर्ने र अस्ताउदो सुर्यलाई अर्घ दिने गरिन्छ ।

चार दिन सम्म मनाईने छठ पूजाको आज विशेष दिन हो । आज ब्रतालुसहित परिवारका सदस्यहरु घर नजिकको पोखरी, नदी, जलाशयमा निर्मित छठी घाट पुग्ने गर्दछन् । नयाँनयाँ वस्त्र लगाएर व्रतालुले बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ दिने गरेका छन् ।

अर्घपछि केही ब्रतालु घर फर्केर आगनमा कोसी भर्ने विधि गर्छन् । अस्ताउदो सुर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउदो सुर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवतरुपमा सम्पन्न हुन्छ । उदाउदो सुर्यलाई अर्घ दिएपछि मात्रै ब्रतालुले व्रत तोड्ने गरेका छन् ।

छठ पूजा गर्ने ब्रतालुले कठोर व्रत गर्ने गरेका छन् । छठको पहिलो दिन नहाइ खाइपछि दोस्रो दिन खरना विधि अन्तर्गत रस्याउ रोटी खाएका ब्रतालुले अस्ताउदो र उदाउदो सुर्यलाई अर्घ दिनुअघि निराहार व्रत गर्ने गरेका छन् ।

छठको विशेष दिन आज नेपाल सरकार र भोली मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्