यमगजको रगरगः कसरी बारा आईपुग्यो कोशी टप्पुको हात्ती ?


Author

eShilalekh

November 3, 2022 1:40 pm

सिमराः केही दिन यता जंगली हात्ती (यमगज) का कारण पर्सा राष्ट्रिय निकुञ्ज वरपरको क्षेत्रका स्थानीय आतंकित छन् । एक महिलाको ज्यान लिईसकेको उक्त जंगली हात्ती अमलेखगंज, पथलैया, दुधौरालगायतको क्षेत्रमा दिनहुँ जसो देखिन थालेको छ ।

कार्तिक १० गते भाईटिकाको दिन अमलेखगंजकी ५१ वर्षीया रुकैदा खातुनलाई बाख्रा चराउन जंगल गएको बेला उक्त हात्तीले आक्रमण गर्दा उनको मृत्यु हुन पुग्यो । उक्त घटनापछि स्थानीय अझ बढी त्रसिद छन् । यमपञ्चकको समयमा खातुनमाथी आक्रमण गरेका कारण पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीले उक्त हात्तीको नाम ‘यमगज’ राखेका छन् ।

कोशीबाट पर्सा राष्ट्रिय निुकञ्ज आएको यमगज एक महिना यता निकुञ्ज सेरोफेरोमा घुमिरहेको छ । हात्तीसारमा पालिएका हात्तीलाई दुःख दिने, मानव बस्तीमा प्रवेश गर्ने, राजमार्गमा निस्कनेलगायतको कार्य गर्न थालेपछि निकुञ्जले यमगजलाई नियन्त्रणमा लिएर दारा समेत काटिसकेको छ । तर दारा काटेर छोडेपनि यमगजको आतंक भने रोकिएको छैन् ।

यमगज बुधवार साँझ जीतपुरसिमरा १ स्थित दुधौरा खोलाको बस्तीमा देखियो । यमगजको आतंकका कारण दुधौराका केही स्थानीय पथलैया आएर रात कटाएका छन् । हात्तीले दुधौराका स्थानीयको घरमा क्षती पुर्याएको छ । रात्री समयमा बस्ती पस्ने गरेका कारण पनि यस क्षेत्रका स्थानीयमा त्रास बढ्दो छ ।

यमगजको आतंक नरोकिएपछि पर्सा राष्ट्रिय निुकञ्जले हात्तीको शरिरमा रेडियो कलर प्रविधि जडान गर्ने तयारी गरेको छ । उक्त प्रविधि जडान गरेपछि हात्ती कुन क्षेत्रमा रहेको जानकारी हुने र जनधनको क्षतीबाट जोगाउन सकिने आरक्षको भनाई छ ।

हात्तीको विषयमा विद्यावारिधी समेत गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जंगली हात्तीले दुःख दिन थालेपछि अपनाउने विधिहरुमध्ये दुई विधि प्रयोग गरिसकेको र अब तेस्रो विधि रेडियो कलर रहेको बताए । उनका अनुसार हात्तीले दुःख दिन थालेपछि पहिलो पटक धपाउने वा खेदने हो । धपाउदा वा खेददा समेत अटेर गरेमा दोस्रो विधि दारा काटेर छोडेने गरिन्छ । दारा काटेर छाडेपछि कतिपय हात्ती शान्त भएर अन्यत्रै जाने र यस वरपरको क्षेत्रमा नदेखिने रामको भनाई छ ।

तर यमगजले यस क्षेत्र नछोडेपछि तेस्रो विधि अन्तर्गत रेडियो कलर जडान गर्नुपर्ने देखिएको रामले बताए । उक्त प्रविधि जडान गरेपछि हात्तीलाई मानव बस्तीमा प्रवेश हुन नदिनका लागि रेडियो कलरमार्फत हात्तीको अवस्था जानकारी हुने र गस्तीमार्फत धपाउन सकिने रामको भनाई छ ।

‘जनधनको क्षती हुन नदिन हामी चिन्तित छौ । त्यसैले रेडियो कलर जडान गर्ने तयारीमा छौं’ रामले भने ‘त्यो प्रविधि जडान गरेपछि गरेपछि हात्ती कुन क्षेत्रमा जान्छ, त्यो हामीलाई जानकारी हुन्छ । हामी त्यसैअनुसार गस्ती गरेर हात्ती धपाउने काम गर्छौ ।’ रेडियो कलर जडानपछि पनि हात्तीको आतंक नरोकिने र जनधनको क्षती हुन थालेमा अन्य प्रक्रिया अघि बढ्ने रामले बताए ।

कसरी कोशीबाट बारा आईपुग्यो यमगज ?

यस क्षेत्रमा देखिएको अन्दाजी १४/१५ वर्षको अर्धवयस्क यमगज तीन महिना अघि कोशी टप्प वन्यजन्तु आरक्षबाट निस्किएको हो । युवा अवस्थामा उपद्रो मच्चाउने स्वभावको यमगजसहित पाँच वटा युवा हात्ती कोशीबाट तीन महिनाअघि निस्किएका थिए ।

कोशीबाट पाँचवटा हात्ती निस्किएपनि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र वरपर भने एउटा मात्रै हात्ती देखिन्छ । अन्य चार हात्तीमध्ये एउटा हलखोरियाको जंगल, दुई वटा निकुञ्जभित्रको प्रतापपुर र अर्को एउटा सवर्णपुर क्षेत्र वरपर छन् ।

समूहमा सिरहाको मिर्चैया, महोत्तरीको लक्ष्मीनिया, सागरनाथको जंगल, रौतहटको चन्द्रनिगाहपुरको उत्तरी सामुदायिक वन क्षेत्र हुदै बारा आईपुगेको हात्ती हलेखोरिया जंगल आएपछि तितरवितर भएका हुन् । हलखोरिया आएपछि उनिहरु समहूमा देखिएका छैनन् ।

युवा अवस्थामा उपद्रो मच्चाउने, अर्धवयस्क अवस्थामा प्रजनन चाहना राखेर पोथी हात्तीलाई दुःख दिने युवा हात्तीलाई समूहबाट निकालिने गरिन्छ । हात्तीहरुको हजुरआमा बथानको नाइके हुन्छिन् । नाईके हात्तीकै नियन्त्रण र अनुशासनभित्र बथानका हात्ती बस्नुपर्ने हुन्छ । बथानमा उप्रदो मच्चाउने समूहबाट निकालिने गरिन्छ ।

२० वर्ष उमेर पुगेको भाले हात्ती प्रजजनका लागि योग्य मानिन्छ । २० वर्ष भन्दा कम उमेरका भाले हात्तीलाई समूहको नाईकेले प्रजनन् गर्न दिदिनन् । उमेर नपुगेको युवा हात्तीको प्रजननलाई राम्रो मानिदैन् । त्यसैले अर्धवयस्क हात्तीलाई प्रजनन गर्द दिईदैन् ।

आफ्नो चाहना पूरा नहुने भएपछि युवा मत्ता हात्ती विद्रोह गर्दै समूह छोडेर हिड्ने गर्छ । विद्रोह गरेर हिड्ने क्रममा युवा मत्ता हात्तीले आफ्नो पूर्खा हिडेको बाटो पछ्याउने गर्दछ । बाटो पछ्याउने क्रममा बाली, घरटहरा नष्ट गर्ने, मानिसमाथी आक्रमण गर्ने गर्दछ ।

सोही क्रममा कोशीबाट यमगजको समूह बारा आईपुगेको हो । निकुञ्ज आईपुगेको यमगजको हात्तीसारमा पालिएका पोथी कामिनिकली, राप्तीकली र भाले नारायणगजसंग भेट भयो ।

पोथी कामिनिकली र राप्तीकलीसंगै भाले नारायणगजलाई देखेपछि यमगज आक्रोशित हुँदै आक्रमणको प्रयास गर्न थाल्यो । जंगली हात्तीले आक्रमण गर्ने देखेपछि निकुञ्जका कर्मचारीले नारायणगजलाई आधाभार ल्याए । नारायणगजलाई आधाभार सारेपछि यमगज पोथी हात्तीसंग बस्न थाल्यो ।

पोथी हात्तीसंग बस्दै आएको यमगज केही दिनपछि आधाभार आईपुग्यो । नारायणगजलाई खोज्दै आधाभार आईपुगेको यमगजलाई निकुञ्जका कर्मचारीले धपाए । त्यसलगत्तै नारायणगजलाई पुनः हात्तीसार लगियो । हात्तीसार लगेको केही दिनमै यमगज फेरी उतै पुग्यो । यमगज आएपछि हात्तीसारका कर्मचारीले नारायणगजलाई जोगाउन सुरक्षा दिए र अहिले पनि सचेत भएर बसेका छन् ।

हात्तीसारमा पालिएका हात्ती र कर्मचारीलाई दुःख दिईरहेको यमगज बिचरणका लागि बाहिर निस्किएको बेला मानव बस्तीमा पस्ने गरेको छ । जसका कारण स्थानीय त्रसिद हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्