मतदान केन्द्र समावेशी र अपांगमैत्री बनाउन आयोगको निर्देशन (बुँदासहित)


eShilalekh

२५ कार्तिक २०७९, शुक्रबार १७:०९

सिमराः निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई समावेशी तथा अपांगमैत्री बनाउन निर्देशन दिएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतमार्फत सबै कर्मचारीलाई मतदान केन्द्र समावेशी तथा अपांगमैत्री आयोगले निर्देशन दिएको हो ।

समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पसहित सबै मतदान केन्द्रलाई सोही अनुसार व्यवस्थित बनाउन आयोगले निर्देशन गरेको हो ।

मतदान केन्द्र व्यवस्थित बनाउन आयोगले दिएको निर्देशनः
(१) मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाई वा नराखी होचो कद वा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मतसंकेत गर्न सक्ने गरी बनाउने वा राख्ने ।

(२) गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्ने ।

(३) मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपांगता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुने गरी निर्माण गर्ने र सबैको सहज पहुँच सुनिश्चित गर्ने ।

(४) मतदान अधिकृतले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्ति तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकता दिएर मतदान गराउने ।

(५) दृष्टिविहिन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत संकेत गर्न नसक्ने भई मतदाताको साथमा आएका परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपांताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसँग गई आफ्नो रोहबरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसंकेत गर्न लगाउने ।

(६) कुनै मतदाता दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मतसंकेत गर्न नसक्ने भई मतसंकेत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्ने ।

(७) निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैंगिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउने ।

(८) गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पुर्याउने र फर्किनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिने ।

प्रतिक्रिया दिनुहोस्