‘सिमरामा चार फन्को घुमाएर काठमाण्डौ लगिएपछि विमानभित्र रुवाबासी चल्यो’


eShilalekh

१३ मंसिर २०७९, मंगलवार २०:४८

सिमराः काठमण्डौबाट सिमरा आएको बुद्ध एयरको जहाज मंगलवार दिँउसो सिमरा विमानस्थलमा अवतरण नगरी पुनः काठमाण्डौ फर्कियो । इण्डिकेटरमा समस्या देखिएपछि जहाज सिमराको आकाशमा चार फन्को लगाएर पुनः काठमाण्डौ पुग्यो ।

सिमरामा ल्याण्ड गर्न नसकेको जहाज काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजै अवतरण गर्यो । प्राविधिक समस्या देखेपछि चालकले विमानलाई काठमाण्डौ फर्काएर अवतरण गराए । काण्ठमाण्डौ पुगेपछि उक्त जहाजको यात्रुलाई अर्को विमानमा चढाएर पुनः सिमरा ल्याएर छाडियो ।

यसबीचमा जहाजको तर्फबाट प्राविधिक गडबडीका कारण समस्या आएको जानकारी यात्रुलाई दिईयो । तर काठमाण्डौबाट फर्कन दिउँसो १ः४० बजेको टिकट लिएर साँझ करिब ६ बजे सिमरा विमानस्थल ओर्लदासम्मको समय भने यात्रुका लागि निकै कहालीलाग्दो बन्यो । बुद्ध एयरको उडान नम्बर यु४ ५५५ नम्बरको जहाजमा प्राविधिक समस्या देखिदा विमानभित्र रहेका ७० यात्रुको अनुभव भने बिर्सन लायक रहयो ।

विमानभित्रै रहेका बाराका पत्रकार श्यामबाबु यादवले अत्यन्तै त्रासदीपूर्ण वातावरणको साक्षी बन्नुपरेको सुनाए । उडान समयभन्दा झण्डै एक घण्टा ढिला उडेको जहाज सिमरा विमानस्थलमाथी चार फन्को लगाएर पुनः काठमाण्डौ फर्कदा यात्रुहरु निकै त्रसिद हुन पुगेको यादवले बताए ।

विमान काठमाण्डौ फर्काइएपछि यात्रुहरुमा रुवाबासी चलेको र पुनः सिमरा ल्याएर छाडिएपछि मात्रै राहतको सास फेरेको यादवको भनाई थियो । ‘सिमरा आईपुगेपछि अरु बेला जस्तै अवतरण हुन्छ भन्ने सोच्यौ । तर प्राविधिक कारणले अवतरण गर्न नसकिएको जानकारी पायौ’ यादवले भने ‘चार पटकसम्म आकाशमै घुमाइयो । त्यसपछि पनि अवतरण गर्न नसकेपछि जहाज काठमाण्डौतर्फ मोडियो ।’

यसबीचमा चालकले विमानलाई सिमरामै अवतरण गराउने थुप्रै प्रयास गरेपनि असफल हुन पुगको यादवले बताए । ‘करिब २० मिनेट जति एकै ठाँउमा विमानलाई होल्ड गरेर समेत राखियो’ यादवले भने ‘तरपनि सम्भव नभएर होला विमानलाई सकुशल काठमाण्डौ फर्काउने काम भयो । काठमाण्डौमा भने अवतरण गर्ने बेला कुनै समस्या देखिएन ।’

काठमाण्डौ अवतरण गराएलगत्तै यात्रुलाई अर्को जहाजमा चढाएको र एक घण्टाभन्दा बढी समय विमानमै राखेर सिमरा ल्याएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्