एडीको हत्यारालाई कारवाही गर्न अनेरास्ववियु बाराको माग


eShilalekh

१४ मंसिर २०७९, बुधबार १८:२४

सिमराः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराले मंसिर ४ गते बाजुरामा भएको चेतन एडी हत्या प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी यथाशिघ्र कारवाही गर्न माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको ध्यानाकर्षण गराउदै अनेरास्ववियुका विद्यार्थी नेताले ३३ वर्षीय एडीको हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायमा ल्याएर कारवाही गर्न माग गरेका हुन् ।

अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालसहितका विद्यार्थीले नेताले बुधवार बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ध्यानाकर्षणपत्र बुझाउदै एडी हत्या प्रकरणमा निष्पक्ष छानविन गर्न सरकारसंग माग गरेका हुन् । ध्यानकर्षणपत्र बुझाउने क्रममा अनेरास्ववियुका निर्जल घिमिरे, इश्वर बस्नेत, संगिता गौतम, पार्वती दाहाललगायतका विद्यार्थी नेता सहभागी थिए ।

ध्यानाकर्षणपत्रमार्फत अनेरास्ववियु बाराले घरमा सुतिरहेको व्यक्तिलाई बाहिर ल्याएर कुटपिट र हत्या गर्दासम्म सरकार मौन रहेको भन्दै अपराधिक गतिविधिको संरक्षण नगर्न आग्रह गरेको छ । सत्ता गठबन्धनको आडमा घटना भएको भन्दै अनेरास्ववियुले हत्या प्रकरणमा संलग्न अपराधीलाई तत्काल पक्राउ र कारवाही गर्न माग गरेको छ ।

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहेका एडीको मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको राती हत्या भएको थियो । त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादलाई लिएर घरमा सुतिरहेको समयमा नेपाली कांग्रेसका युवा कार्यकर्ताले एडीलाई घरबाहिर बोलाएर कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भिर घाईते एडीलाई अछामको बयलपाटा अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्